अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत लोकभाकाको अभिन्न अङ्गः उपराष्ट्रपति

तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत लोकभाकाको अभिन्न अङ्गः उपराष्ट्रपति


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताउनुभएको छ । ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार-२८५८ को अवसरमा शुभकामना दिँदै उहाँले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका आसपासका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरण गर्दै उहाँले सोनाम ल्होसारले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ल्होसार पर्व मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले ल्होसारलाई आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिनुपर्ने बताउनुभएको छ ।

ल्होसारका अवसरमा देश–विदेशमा रहेका तामाङ दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्णपालना गरेर पर्व मनाउन सबैमा अपिल गर्नुभएको छ ।