अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा प्रचण्ड–माधवसँग गठबन्धन गर्न प्रदीप ज्ञवालीको अरुचि

चुनावमा प्रचण्ड–माधवसँग गठबन्धन गर्न प्रदीप ज्ञवालीको अरुचि


काठमाडौं– स्थानीय तह चुनावको मिति घोषणा सन्निकट छ । अझ सत्ता गठबन्धन त तीनै तहको चुनाव गर्ने गरी कानूनी व्यवधान हटाउने छिद्र खोज्दैछन् ।

सम्भावित तीनै तहको निर्वाचनमा हुने गठबन्धन र चुनावी परिणामको चासो राजनीतिभित्र र बाहिर उत्तिकै छ ।

२०७४ सालको निर्वाचनमा वाम दलको गठबन्धनले ल्याएको परिणामले नेपाली कांग्रेस बेलाबेला तर्सिने गरेको छ ।

४ वर्षपछि राजनीतिक फेरबदल भने उल्टोपाल्टो भएको छ ।

गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेको एउटा सानो समूह अलग दल बनाएर सरकारमा छ । तत्कालिन नेकपा हुँदा सत्तामा ठूलो हिस्सा बनेको माओवादी केन्द्र कांग्रेसको सहयोगीमात्रै भएको छ ।

आगामी निर्वाचनबारे युवा संघले काठमाडौंमा गरेको कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनले झन् अस्थिरता ल्याएको टिप्पणी गर्नुभएको छ ।

ज्ञवालीले अबको निर्वाचनमा अस्थिरताका पात्रहरुसँग फेरि पनि गठबन्धन गर्न अरुचि देखाउनुभएको छ । ‘फेरि पनि अस्थिरताका पात्रसँग मिलेर जाने पक्षमा एमाले छैन,’ उहाँको भनाइ छ ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने माओवादी र एकीकृत समाजवादी पार्टी अहिले सरकारमा भए पनि निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने विषयमा पनि छलफल चलाइरहेको सूचना आफूले पाएको जिकिर गर्नुभयो । उहाँले द्वैध चरित्र भएका च्याँखे दलका नेता एमाले र कांग्रेसमध्ये एउटालाई साथमा लिने र आफ्नो हैसियत बनाएर सरकारमा जाने गरेको टिप्पणी पनि गर्नुभयो ।