अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डले नै नेपालमा पहिलो पटक एमसीसी ल्याएको ज्ञानेन्द्र शाहीको खुलासा

प्रचण्डले नै नेपालमा पहिलो पटक एमसीसी ल्याएको ज्ञानेन्द्र शाहीको खुलासा


काठमाडौं– सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गर्नुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको सुनाउनुभयो ।

तत्कालिन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले संसद्बाट पारित गर्न भनेर पछि मात्र हस्ताक्षर गरेको उनले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा एमसीसीको जग अरु कसैले नभई कांग्रेस र माओवादीले बसाएका हुन् ।’

‘नेपालमा पहिलोपटक एमसीसी भित्राउने प्रचण्ड नै हुन् । तर, तिनै प्रचण्डले कहिले एमसीसीको विरोध गर्छन् कहिले समर्थन गर्छन्’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘त्यस्तै एमालेले पनि हिजो सरकारमा हुँदा संसद्बाट पारित गर्न खोजेको थियो, आज विरोध गरिराखेको छ, यो नेताहरुको रङ भनेको छेपाराको रङ जस्तो हुने रैछ, हामी बुझ्नै सक्दैनांै ।’

कसैलाई राजनीतिक फाइदा लिन, कसैलाई आर्थिक र कसैलाई काम मात्रै अट्काउन नेताहरुको सोचले नेपालीहरु यो अवस्थामा पुगेका उहाँले जिकिर गर्नुभयो । देशको सबै जनता एमसीसीको विरुद्धमा हुँदाहुँदै पनि सरकारले पारित गर्न खोजेमा लोकतन्त्र र राज्य माथिको अपमान हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘एमसीसीविरुद्ध यत्रा जनता हुँदाहँुदै पनि एमसीसी पास गरे लोकतन्त्र र राज्यमाथिको अपमान हुनेछ । एमसीसी साँच्चिकै राष्ट्रघाती हो ।’

देशलाई एमसीसीबाट आउने ५५ अर्ब रुपैयाँ धेरै ठुलो रकम नभएको भन्दै उहाँले पैसा नै चाहिएको भए नेपालमा भएका ठुला–ठूला घोटला र काण्डहरुको छानबिन गर्न पर्ने बताउनुभयो । शाहीले ६२ अर्बको एनसेल, ओम्नी, वाइडबडीलगायतका काण्डको अनुसन्धान गर्नपर्नेमा सुनाएका थिए ।

त्यस्तै, विभिन्न सरकारी र संवैधानिक निकायका कर्मचारीको सम्पत्ति छानबिन गर्न सरकारसँग आग्रह गर्नुभयो । यदि संसद्बाट एमसीसी पारित गरेमा अहिलेका पुस्ताले भन्दा पनि आउने सन्ततिले दुःख पाउने उहाँको भनाई थियो ।

जनताले भोट दिएकै कारण नेताहरुले आज देश बेच्न लागेको उहाँले सुनाउनुभयो । नेपालका सबै जनतालाई एमसीसी बारे सत्यतथ्य जानकारी दिनुपर्ने उहाँले बताउनुभयो ।