अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का मुख्यमन्त्री राईलाई अनेरास्ववियु र युवा संघद्वारा कालो झण्डा

प्रदेश १ का मुख्यमन्त्री राईलाई अनेरास्ववियु र युवा संघद्वारा कालो झण्डा


मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा एमालेको भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झन्डा देखाएको हो ।

अनेरास्ववियुका उपमहासचिव भाष्कर खनालको नेतृत्वमा आएका विद्यार्थीहरूले कालो झन्डा देखाएका थिए। गठबन्धनलाई भागबण्डा पुर्‍याउन ७ मन्त्रालयबाट १२ पुर्‍याएकोले आर्थिक भार बढेको, जनजीविका र विकास निर्माण ठप्प पारेको पारको भन्दै संगठनले विरोध गरेका हुन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय गरेर मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो ।

बैठकले अहिले भएको सातवटा मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी चारवटा मन्त्रालयलाई विभाजन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

उक्त मन्त्रालयहरूलाई विभाजन गरेर सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, भूमि, सहकारी तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बनाउने निर्णय गरेको छ ।