मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आव थप दुई जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका-६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा तीन जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम थिए ।
मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको भनाई छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
प्रतिक्रिया