अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन सरकारले संविधान उल्लघंन गर्ने धृष्टता गर्दै छ : ईश्वर पोखरेल

सत्ता गठबन्धन सरकारले संविधान उल्लघंन गर्ने धृष्टता गर्दै छ : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेण्डासँग कुनै मतलब नभएको आरोप लगाउनुभयो ।

उहाँले संविधान, मूल्य मान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको बताए ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा आज आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्ने मात्रै भएको आरोप लगाउनुभयो । ‘यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा एमाले उभिएको छ । श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भन्नुभयो, ‘कानूननलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जन परिचालन हुन्छ ।’

नेता पोखरेल भन्नुहुन्छ, ‘हामी संघीयताको बलियो कार्यान्वयन चाहन्छौं । तर, यो गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि छन्, सात प्रदेशले पुगेन भन्ने पनि त्यही छन् । प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको वकालत गर्नेहरु पनि त्यही छन् । परम्परागत संसदीय व्यवस्थाको वकालत गर्नेहरु पनि त्यही छन् । यहीबाट प्रस्ट हुन्छ यो गठबन्धन कुनै मूल्य मान्यतामा आधारित छैन, एमालेको विरोध गर्ने मात्रै हो ।’

नेता पोखरेलले पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य भएको बताउनु भयो । उहाँले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन समेत निर्देशन दिनुभयो ।