रूपन्देही – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्लाका पूर्व जिल्ला सेक्रेटरी खिम खड्कासहित विभिन्न पार्टीका ५० जनाले एमालेमा प्रवेश गरेका छन् । देशभर नेकपा एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ । हरेक दिन जसो पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको हो ।
उक्त कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य विष्णु विक, अनेरास्ववियू क्रान्तिकारीका नवलपरासी अध्यक्ष सुशील परियार, युवा संगठन गुल्मीका अध्यक्ष कृष्ण ढकाल लगायत एमाले प्रवेश गर्नुभएको छ । सो कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाउनुभयो । नेता ज्ञवालीले स्थानीय निर्वाचन समयमै गर्न दबाब दिन जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने भनि मिति तय गरेपनि पार्टीले दबाब सिर्जना गर्नुपर्नेमा उपमहासचिव ज्ञवालीको जोड थियो । ज्ञवालीले पार्टीका कार्यकर्तालाई अब स्थानीय निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह पनि गर्नुभएको छ ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा गुल्मी इञ्चार्ज दिनेश पन्थी, नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही इञ्चार्ज भुमिश्वर ढकाल, नेकपा प्रदेश कमिटि सदस्य डा. गोकर्ण पन्थी, पार्टी प्रवेश गर्नेहरुको तर्फबाट खिम खड्का लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन स्थानीय कार्यकर्ताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।











प्रतिक्रिया