काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग पूरा नहुँदासम्म संसद् अवरोध जारी राख्ने जनाएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।
नेकपा एमालेले सभामुखको गलत कदमको बिरोधमा संसद बैठकमा नाराबाजी गर्दै आएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठकमा पनि एमालेले आफ्नो अडान स्पष्ट ढंगले राखेको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गनमनको विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारको बैठकपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा एमालेले छलफल गर्न चाहेको भए पनि त्यसका लागि सत्तापक्षले वातावरण बनाउन नसकेको बारे बैठकमा कुरा राखेको बताउनुभयो ।
सभामुख सापकोटाको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थित हुन गारो परेको उहाँले बताउनुभयो । सदनमा प्रमुख प्रतिपक्षीको उपस्थिति आवश्यक छ भन्ने सत्तापक्षले महसूस गर्छ भने आफूहरुको माग सम्बोधन गर्न आग्रह गरेको उहाँले बताउनुभयो ।
‘१४ जना गैरसांसदहरुलाई राखेर प्रतिनिधि सभा चलाउने काम भइरहेको छ त्यसलाई रोक्नु पर्छ। गैरसांसदको उपस्थितिमा प्रतिनिधि सभा अघि बढ्न सक्दैन’ बैठकपछि उहाँले भन्नुभयो, ‘दलले कारबाही गरेर व्यक्तिहरुलाई राखेर संसद चलाउने कुरा प्रति हाम्रो असहमति छ। त्यो कुरालाई रोक्न नसक्ने हो भने सभामुखले मार्ग प्रशस्त गर्नु पर्छ ।’






प्रतिक्रिया