अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनावमा एमालेले कसैसँग गठबन्धन गर्दैन : महेश बस्‍नेत

स्थानीय चुनावमा एमालेले कसैसँग गठबन्धन गर्दैन : महेश बस्‍नेत


काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताउनुभयो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्‍दै नेता बस्नेतले स्तथानीय तहको चुनावी मैदानमा एमाले एक्लै जाने बताउनु भएको हो ।

नेता बस्नेतले भन्नुभयो, ‘निर्वाचनको मैदानमा जाने कुरामा जुन शक्ति आफ्नो एजेण्डामा स्पष्ट र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ । एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’

उहाँले मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि एमाले सकारात्मक भएको बताउँदै पछिल्लो समय आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा वार्ता गर्ने स्थिति बन्‍नुलाई राम्रो पक्ष भएको बताउनुभयो ।

नेता बस्नेतले एमाले यो मुलुकको उन्नति, प्रगति र संविधान कार्यान्वयनको निम्ति, लोकतान्त्रिक पद्धतिलाई विकास गर्न सहयोगी भूमिका खेल्न बताउनु भयो । उहाँले एमालेमाथि धेरै अनैतिक काम भएको स्मरण गराउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउने काम भयो, एमाले सरकारले सुरुवात गरेका विकास निर्माणका काम अहिले अवरुद्ध भएका छन् । नियुक्तिहरु खारेज भएका छन् । भूमि आयोग भंग भएको छ, खेलकुद परिषद्, युवा कोषलगायतका नियुक्ति सरकारले खारेज गरेको छ ।’