काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा आर्थिक सहायताको नाममा साढे ९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ ।
आर्थिक सहायताको नाममा बाँडिने यस्तो रकम धेरैजसो सरकारमा सहभागी दलका प्रभावशाली नेता तथा कार्यकर्तालाई दिने गरिन्छ ।
गृह मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८\७९ सुरु भएपछिको ६ महिना (साउन देखि पुससम्म) मा आर्थिक सहायताको नाममा ९ करोड ५५ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ ।
आर्थिक सहायता गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि वितरण गर्ने गरिन्छ । तर कतिपय आर्थिक सहायताको प्रस्ताव सिधै मन्त्रीपरिषद्बाट निर्णय भएपछि मात्र गृहमा आउने गरेको स्रोतको दाबी छ ।
अघिल्लो एक आर्थिक वर्षमा वितरण गरिएभन्दा बढी रकम देउवा नेतृत्वको सरकारले यस आर्थिक वर्षको पहिलो ६ महिनामा वितरण गरिसकेको छ ।
चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा सरकारले प्रत्येक महिना औषतमा १ करोड ५९ लाख २० हजार रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गर्दै आएको छ ।
नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६८ (दोस्रो संशोधन २०७३) को आधारमा यस्तो आर्थिक सहायता वितरण गर्दै आइएको छ ।







प्रतिक्रिया