खोटाङ – प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताउनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धन जोगाउन भरमग्दुर प्रयास गर्ने तर यसैका लागि एसीसी पास गर्न नहुने धारणा राख्नु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्ट पार्नु भयो । ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपाली जनताको सार्वभौमसत्ताको सुरक्षा गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन जोगाउन हामी भरपुर प्रयास गर्छौ। तर एसीसी पास गर्ने सवालमा हो भने गठबन्धन हामीलाई आवश्यक छैन,’ मन्त्री राईले भन्नुभयो, ‘एसीसी यथास्थितिमा पास गर्न हुँदैन । एसीसी मुलुकको सन्दर्भमा उपयुक्त छैन । यथास्थितिमा एसीसी पास गरियो भने मुलुकको सार्वभौमसत्ता एवं लोकतान्त्रिक गणतन्त्रका लागि प्रतिकूल हुने प्रष्ट छ । अहिले देशीविदेशी शक्तिहरु यो गठबन्धनलाई कसरी भत्काउन सकिन्छ भनेर लागिरहेका छन् । त्यसतर्फ सजग हुन जरुरी छ ।’
अमेरिकाको एउटा संस्थाबाट ५५–५६ अर्बको सहयोगका लागि नेपालको संसदले पास गर्नुपर्ने अभिसप्तता भोग्नुपर्ने अवस्था दुःखद् भएको मन्त्री राईको भनाइ छ ।
सामाजिक विकास मन्त्री राईले प्रदेशको नामाकरणमा ढिलासुस्ती हुँदा ‘लाज लाग्ने’ स्थिति आएको बताउनु भयो । सात प्रदेशमध्ये ६ प्रदेशले नामाकरण टुंग्याइ सक्दा पनि प्रदेश १ को नामाकरण हुन नसक्दा सबैले ‘गिल्ला गर्ने’ अवस्था आएको बताएका छन् । प्रदेश २ ले पहिचान र पाँच प्रदेशले भूगोलको आधारमा नामाकरण गरेको उल्लेख गर्दै मन्त्री राईले प्रदेश १ को नामाकरण पहिचान र भूगोलका आधारमा राख्नु सर्वस्वीकार्य हुने धारणा राख्नु भएको छ ।







प्रतिक्रिया