अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले ‘५ हजारमा किनेर खोप लगाएको’ भनेर ढाँट्ने स्वास्थ्य मन्त्रीको राजीनामा माग्यो

एमालेले ‘५ हजारमा किनेर खोप लगाएको’ भनेर ढाँट्ने स्वास्थ्य मन्त्रीको राजीनामा माग्यो


काठमाडौं– नेकपा एमालेले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्न सरकारका तर्फबाट प्रयासहरु भएको जनाएको छ ।

एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘सगरमाथा’ टेलिभिजनमा ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ,’ विज्ञप्तीमा भनिएको छ, ‘तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’

सांसदहरुका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको थियो ।

विज्ञप्तीमा भनिएको छ, ‘उपरोक्त तथ्यबाट स्पष्ट हुन्छ– स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गर्नुभएको छ । लक्षित वर्गले निःशुल्क खोप प्राप्त गर्ने खोप ऐन, २०७२ र खोप नियमावली, २०७४ को सामान्य ख्यालसमेत नगरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक छ ।’

कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरुले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रुपमा उल्लेख गरेको विज्ञप्तीमा भनिएको छ । एमालेले भनेको छ, ‘मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्पे्रषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोना जस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नुभएको छ ।’

एमालेले आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भत्र्सना गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न माग गरेको छ ।