अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको भविष्य निर्धारण गर्ने बैठक आज

गठबन्धनको भविष्य निर्धारण गर्ने बैठक आज

एमसीसी अघि बढाए बालुवाटारबाटै गठबन्धन तोडिएको घोषणा गर्ने तयारीमा प्रचण्ड -माधव


काठमाडौं- सत्ता गठबन्धनको निर्णायक बैठक आज बोलाइएको छ ।

बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल पछि आजका लागि गठबन्धनको निर्णाय बैठक बोलाइएको हो ।

एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षाविपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो । आजको बैठकले गठबन्धनको भविष्य निर्धारण गर्नेछ ।

नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज संसदीय दलको बैठकबाट एमसीसी पास गर्न नसकिने बरु सरकार छाड्ने निर्णय गरेको छ भने नेकपा एस पनि विपक्षमा रहेको छ । गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले यसअघि नै एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जनता समाजवादी पार्टी (जसपा) पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ ।

बुधबार एमसीसीलाई प्रतिनिधि सभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत कांग्रेसलाई जसपाले साथ दिएन । उक्त बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो । बिहीबारको निर्णायक भनिएको बैठकमासमेत जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन् ।

एमसीसीको पक्ष वा विपक्षमा मत राख्नु भन्दा सहभागी नहुने तर्फ यादव अघि बढेका हुन् । उनी सिराहामा राखिएको पार्टीको एक सामान्य कार्यक्रममा भोलि सहभागी हुँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनु पर्ने भएपनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए ।