काठमाडौं – सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छुट्टै छलफल गरेका छन् ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।
अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दलका नेताहरु छलफलमा जुटेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा लगिछाड्ने अडान लिनुभएपछि सत्ता साझेदार नेताहरुमाथि यतिखेर दबाब परेको छ।
बुधबार सरकारले एमसीसी सम्झौता संसद बैठकमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनभित्रको विवादका कारण पेश हुन सकेन ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् तर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौता यथास्थितिमा संसदमा टेबल गर्न पनि नदिने पक्षमा छन् । उता जसपा भने विभाजित छ ।
माओवादी केन्द्रको बुधबार बिहानको बैठकले जबरजस्ती संसदमा एमसीसी लगिए सरकार छाड्ने धम्की दिइसकेको छ । एमसीसीका बारेमा आज बिहान पनि दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वार्ता भएको थियो । उक्त वार्तापछि गठबन्धनको बैठक बिहीबार अपरान्ह ५ बजे मात्रै बस्ने गरी डाकिएको छ।







प्रतिक्रिया