काठमाडौं – नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे भइरहेको विवादमा उत्तरी छिमेकी चीनले पनि मुख खोलेको छ। छिमेकी चीनले एमसीसी स्वीकार्न बाध्य बनाउन अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको आरोप लगाएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले नेपालमाथि धम्की कूटनीति शुरू गरेको बताउनु भएको हो ।
प्रवक्ता वाङले नेपालबारे अमेरिकाको यो कदमको चीनले प्रतिरोध गर्ने पनि चेतावनी नियमित पत्रकार सम्मेलनमा दिनु भएको छ ।
चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वाङ वेनबिन भन्नुभयो ।
केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गर्नुभएको थियो । फोन कुराकानीका क्रममा प्रचण्डलाई लुले एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएको समाचार प्रकाशित भएका थिए।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले भने आफूहरूले नेपाली नेतालाई धम्की नदिएको बताएको छ। अमेरिकी अधिकारीहरूले नेपालमा एमसिसीको यति धेरै विरोध हुनुका पछाडि विदेशी शक्तिको हात रहेको बताउँदै आएका छन्।
चीनले यसअघि यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको थिएन।







प्रतिक्रिया