काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको प्राथमिकता सरकार होइन चुनाव भएको बताउनु भयो ।
सचिव भट्टराईले भन्नुभयो, ‘यतिखेर सरकार नेकपा एमालेको प्राथमिकता होइन । आगामी वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन । यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन । यसमा पर्याप्त मात्रामा क्रंक्रिट र सिमेन्ट थिएन । रडहरु मिलाएको थिएन । रसायन मिलेको थिएन । त्यसकारण यो टुट्नु त अनिवार्य छ । यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ । टुटेपछि संविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरुले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ ।’
गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उहाँको भना छ । गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भूमिका कहाँ हुन्छ सोही अनुसार भूमिका निर्वाह गर्ने बताउनु भयो ।
सचिव भट्टराईले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताउनुभयो । एमालेको माग अनुसार १४ जना सांसदहरुलाई कारबाही हुनुपर्ने उहाँले बताउनु भयो । सचिव भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तीनवटै तहको निर्वाचन भएको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया