अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीबारे विवाद भएपछि नेकपा एसले बोलायो बैठक

एमसीसीबारे विवाद भएपछि नेकपा एसले बोलायो बैठक


काठमाडौं – नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाएको हो । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै विरोध गर्नुभएको थियो । उहाँले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गर्नुभएको थियो ।

शनिबारको स्थायी कमिटी बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नु परेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन:महासचिव डा.बेदुराम भुसालले अर्को विज्ञप्ति निकाल्नु भएको थियो ।

प्रचार विभाग प्रमुख खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गरेका थिए । लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो ।

महासचिव भुसालको वक्तव्यमा ‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको त्यस्तै अनुमोदन गर्न नसकिने, तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’ भनिएको छ ।

तर, नेता खनाल एमसीसी संसदमा टेबल गर्न दिने कि नदिने भन्नै बैठकमा कुनै नै निर्णय नभएको भन्दै विरोध गरिरहनु भएको छ ।