काठमाडौं -आफूलाई भेट्न आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्ली इलेक्सनमा जाने भए आफूहरु तयार रहेको बताउनुभएको छ ।
संसद विघटन नगरी पनि अब संघीय निर्वाचन घोषणा गर्न मिल्ने बिषयमा पनि छलफल भएको एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । ‘यो संसदले काम गर्न सक्दैन भन्ने कुरा मैले वर्षदिन अघि नै महसुष गरेर विघटन गरेको हुँ’ अध्यक्ष ओलीले बैठकमा भनेको कुरा उधृत गर्दै सहभागी एक नेताले भन्नुभयो ‘काम गर्न नसक्ने संसदलाई कुरिरहने भन्दा नयाँ जनादेशमा जाउँ । अर्ली इलेक्सनका लागि एमाले तयार छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीसँग लोकतन्त्रका लागि लडेका काँग्रेस र एमाले शक्तिहरु राष्ट्रिय मुद्धामा एक हुनुपर्ने बताउनुभएको छ ।
ओलीलाई भेट्न बालकोट पुगेका देउवाले नेपालमा लोकतन्त्र ल्याउन अन्य दलको भन्दा काँग्रेस एमालेको धेरै लगानी भएकोले राष्ट्रिय मुद्धाहरुमा एकतावद्ध र जिम्मेवार भएर अघि बढ्नु पर्ने बताउनुभएको थियो ।
अमेरिकी साहायता परियोजना एमसीसी सर्वसम्मतीले पारित गर्न देउवाले ओलीलाई आग्रह गर्नुभएको छ । ओलीले माधव नेपाल सहितका १४ जना साँसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजिानामा दिनुपर्ने माग अघि सार्नुभएको छ । अध्यक्ष ओलीले एमसीसीका बारेमा एमालेको धारणा स्पष्ट भए पनि संसदमा छलफल हुने वातावरण नभएसम्म कुनै धारणा दिनुको अर्थ नभएको बताउनुभयो ।
बैठकपछि सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठक अझै टुंगोमा नपुगेकोले थप छलफल गरिने बताउनुभयो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बैठकमा संसदको निर्वाचनको विषय पनि उठेको बताउनुभयो । ‘अर्ली इलेक्सनमा जाने हो भने त्यसमा एमालेको समर्थन रहन्छ भनेर हामीले भन्यौं’ ज्ञवालीले भन्नुभयो ।







प्रतिक्रिया