पोखरा – नेपाल कम्युनिष्ट पार्टी एमाले पोखरा महानगरपालिका वडा २७ को पार्टी कार्यालय आवासनगरस्थित उद्घाटन गरिएको छ ।
एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख पूर्वगृहमन्त्री खगराज अधिकारीले एक कार्यक्रमका बीच वडा पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । सरकारले स्थानीय निर्वाचनको मिति तय गरेसँगै पोखरामा एमालेले सबै वडामा थप जनसम्पर्क स्थापित गर्न र कार्यसम्पादनका लागि वडा कार्यालयहरु स्थापना गरिरहेको छ ।
उद्घाटनपछि बोल्दै नेता अधिकारीले देश र समाज विकास निर्माणको अगुवाई गर्ने पार्टी एमाले मात्र भएको बताए । स्थानीय निर्वाचन र त्यसको ६ महिनापछि एमालेले पुनः तिव्रताका साथ विकास निर्माणलाई अगाडि बढाउने उहाँले सुनाउनु भयो ।
एमसिसीका सन्दर्भमा गठबन्धन सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने बाटो रोजेको नेता अधिकारीको भनाइ छ ।
नेता अधिकारी भन्नुहुन्छ ‘अहिले तमासा देख्नुभएन । कोहीले महाभियोग लाउन मिल्ने । अहिले एमसीसीमा के सिसि मिलेन । कोही बाहिर बस्छु भन्छ कोही भित्र बस्छु भन्छन्,’ उहाँले भन्ननुभयो, ‘मन्त्री भएकाले भोट हाल्छु भन्छ, मन्त्री भएका पनि धामी झांक्री को को उफ्रिन्छन् । यिनका नाटक । देशलाई अनिर्णयको बन्दी बनाएर अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने ।’ पोखरा २७ मा विगतदेखि नै एमाले बलियो रहेको जनाउँदै नेता अधिकारीले आगामि निर्वाचनमा जित सुनिश्चित भएको दाबी गर्नुभयो ।

केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज भीमबहादुर कार्कीले राष्ट्रियताको पहरेदार एमाले भएको बताउनु भयो । भारतीय हस्तक्षेपका विरुद्धमा डटेर लड्ने र गुमेको भूमि फिर्ता गर्ने पार्टी एमाले भएको उनको भनाई थियो । सबै वर्गका अधिकार प्राप्तिको लागि एमाले सधैं लडिरहने नेता कार्कीले सुनाउनु भयो ।
एमाले कास्की जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङले वडा २७ लाई एमालेमय बनाउन सबै कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । टोलटोलमा मसिनो गरी जनताको सेवामा समर्पित भई मन जित्नेगरी काम गर्न र निर्वाचनमा केन्द्रित हुन उनको सुझाव थियो ।
एमाले पोखरा २७ का अध्यक्ष सूर्यमणि लामिछानेले निर्वाचनको समयले ढाकिसकेको हुनाले वडामा गतिविधिहरुलाई निरन्तरता दिइरहेको सुनाउनु भयो ।
एमालेको नेतृत्वमा भएका सामाजिक प्रगतिका तथ्यहरुलाई जनताको बीचमा लैजाने र पार्टीलाई चिनाउन उनको आग्रह थियो । वडामा निर्वाचन जित्ने आधार धेरै भएको उल्लेख गर्दै वडाध्यक्ष लामिछानेले मेयर र उपमेयरका उम्मेद्वारलाई पनि जिताउने गरी सूर्य चिह्नका ३ सय ५० एकछापे मतदाता थप गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी दर्जनौं व्यक्ति एमालेमा प्रवेश गरे । प्रवेश गर्नेमा धिरज गुरुङ, पुजन राईभाट लगायत रहेका छन् ।







प्रतिक्रिया