अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैनः अध्यक्ष ओली

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैनः अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताउनुभएको हो । ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उहाँले भन्नुभयो, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्मा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी ?’

अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताउनुभयो । उहाँले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वच्छेचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताउनुभयो । ‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ । हाम्रो विधि कहाँ पुग्छ ?’, उहाँले प्रश्न गर्नुभयो । उहाँले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताउनुभयो ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याएको स्पष्ट पार्नुभयो । ‘राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन’, उहाँले भन्नुभयो, ‘महाअभियोग निर्णायार्थ प्रस्तुत गर्न ल्याएको होइन ।’ सबै क्षेत्रमा न्याय र समानतासहितको समृद्ध नेपाल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्मेलनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ ।