खोटाङ – प्रदेश १ का सांसद उषाकला राईले प्रदेशको मन्त्रालय फुटाउँदा राज्यलाई अनावश्यक आर्थिक व्ययभार भएको बताउनु भएको छ ।
प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद राईले भागबन्डा मिलाउने नाममा मन्त्रालय फुटाउँदा गाडी, घोडा र तलब भत्तामा अनावश्यक खर्च भइरहेको भन्दै सरकारको आलोचना गर्नु भएको छ ।
प्रदेशकै पूर्वसामाजिक विकास मन्त्री रहेका राईले नागरिकको अत्यावश्यक कामको सन्दर्भमा सरकार मौन देखिएको भन्दै विरोध जनाउनु भयो । ‘हिजोको ७ मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको छ । त्यसमा अरू पनि थप्ने चर्चा भइरहेको छ,’ राईले भन्नुभयो, ‘जनताका लागि बाटो, पुल, खानेपानीको आवश्यकता छ । जनता खानेपानी नपाएर छट्पटाइरहेकाछन्, जनता सिँचाई नपुगेर बारी खेत बाँझो राख्नुपर्ने स्थितिमा छन् । शिक्षा, स्वास्थ्य र रोजगारको विषय त्यत्तिकै बिकराल छ । तर अत्यावश्यक कामको सन्दर्भमा सरकार मौन छ ।’
सांसद राईले एमसीसीको सन्दर्भमा गठबन्धनको औचित्यमाथि प्रश्न उठाउनु भएको छ । वर्तमान गठबन्धन राष्ट्र, राष्ट्रियता र जनताको हितको लागि नभई स्वार्थका लागि बनेको दाबी गर्नुभयो । ‘यो गठबन्धनको औचित्य राष्ट्र, राष्ट्रियता र जनताको हितको लागि होइन, आफ्नो निहित स्वार्थ, सत्ता र कृत्रिम शक्तिको लागि आवश्यकता परेको हो ?,’ राईले प्रश्न गर्नुभयो, ‘याद रहोस्, स्थायी र चिरस्थायी सत्ता र शक्ति भनेको जनता र राष्ट्र हो, त्यसका लागि लाग्नुस्, लागौं ।’
मूख्यमन्त्रीले सामान्य खर्चलाई जिरोमा झारेर भएको बजेटलाई तानतुन गरेर रकमान्तर गर्ने आदेश दिएको भन्दै सांसद राईले आपत्ति जनाउनु भयो ।







प्रतिक्रिया