अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको राजीनामा पर्खिरहेका छौं : अध्यक्ष ओली

सभामुखको राजीनामा पर्खिरहेका छौं : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताउनु भएको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा अध्यक्ष ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पनि सक्ने बताउनु भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने सक्ने संकेत गर्नुभयो । तर उहाँले आफ्नो पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेको भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गर्नुभयो ।

‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ भन्दै उहाँले भन्नुभयो, ‘ ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बहिर्गमित हुनुहोस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् ।’

पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको ओलीको आरोप छ।

‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसद्लाई हामीले कारबाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन,’ ओलीले भन्नुभयो ।

एमालेले दुई साताअघि नै आफ्ना पार्टीका सांसदहरूलाई दुईवटा खाली कागजमा हस्ताक्षर गरेर राखेको छ। एमसीसी पारित गर्नुअघि नै सभामुख सापकोटाविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने आकलन गरिएको थियो । तर, सभामुख सापकोटाले एमसीसी प्रस्ताव टेबुल गर्न दिएपछि त्यो चर्चा त्यतिकै हराएको थियो ।