अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्र फुटको संघारमा, एमसीसीका कारण चर्कियो असन्तुष्टि

माओवादी केन्द्र फुटको संघारमा, एमसीसीका कारण चर्कियो असन्तुष्टि

माओवादी फुट्ने सङ्केत पाएपछि नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा


काठमाडौं – अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएपछि सो विषयलाई लिएर माओवादीभित्र दुई लाइन संघर्ष चर्किएको छ ।

एमसीसी अनुमोदनमा समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी केन्द्र छाड्ने तयारी गरेका छन्।

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट विद्रोह तथा पार्टी छाड्न सक्ने सम्भावना बढेपछि अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुग्नु भएको छ ।

सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ भन्ने रुखो अभिव्यक्ति दिनु भएको थियो । सो अभिव्यक्तिलाई लिएर श्रेष्ठनिकट पूर्व एकता केन्द्रका एक नेताले भन्नुभयो, ‘कमरेड नारायणकाजीलाई अपमान सहेर प्रचण्डसँग बस्न सकिन्न भन्दै पूर्वसमूहका नेताहरूले दबाव दिइरहेका छन् । यही कुरो थाहा पाएर आज प्रचण्ड नारायणकाजीलाई भेट्न हात्तीवन जानुभएको हो ।’

पार्टीमा बस्न मन नलाग्नेहरू छाडेर जान सक्ने प्रचण्डको अभिव्यक्तिपछि माओवादीमा रहेका पूर्वएकताकेन्द्र समूहका साथीहरू तरङ्गित बनेको एक नेताले बताउनु भयो ।

विचार मिल्दा र मन लाग्दासम्म एउटै पार्टीमा बस्ने हो भन्दै प्रचण्डले एकै ठाउँमा रहन नसक्नेहरु अलग हुन सक्ने भाव प्रकट गर्नुभएको थियो । सो भावलाई पूर्वएकताकेन्द्रका नेताहरुले यसलाई ‘छाडेर गए हुन्छ’ भनेको अर्थमा बुझेका छन् ।

एमसीसी पारित हुँदा पार्टीभित्र र संसद्‍मा समेत गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे लगायतका नेताहरूले असहमति जनाउनु भएको थियो । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतले पार्टीको बैठकमा असहमति जनाउनु भएको थियो । त्यस्तै पूर्वएकताकेन्द्रका नेताहरूले जस्तै कृष्णबहादुर महरा, राम कार्की लगायतले पनि एमसीसी अनुमोदनको विरोध गर्नु भएको थियो । एमसीसीको विरोध गर्दै आएका देव गुरुङले भने पार्टी लाइनलाई समर्थन गरेको सोमबारको पत्रकार सम्मेलनमा बताउनु भएको थियो ।

यही असन्तुष्टिलाई मत्थर पार्न र नारायणकाजीलाई फकाउन प्रचण्ड मंगलबार दिउँसो हात्तीवन गएको एक नेताले बताउनु भयो ।