के हो ब्याख्यात्मक टिप्पणी ? अहिले बहस विवाद भइरहेको छ । ब्याख्यात्मक टिप्पणी भनेको के हो भनी बुझ्नलाई अति सजिलो छ । ‘प्रचण्डपथ’को परिमार्जित संस्करण नै ‘ब्याख्यात्मक टिप्पणी’ हो ।
पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाममा प्रचण्डपथ नामको विचार चलाउनुभएको थियो । त्यो विचार फैलाउन माओवादीले १७ हजार मानिसको हत्या गर्यो । खुला राजनीतिमा आएपछि प्रचण्डपथलाई दराजमा थन्काउन प्रचण्ड वाध्य हुनुपरेको थियो । दराजमा प्रचण्डपथ थन्काइए पनि व्यवहारमा भने प्रचण्डपथ लागू नै थियो । प्रचण्डपथ नाम नभनीकन माओवादी केन्द्रले देशमा अनेकौं उत्पात मच्चाएको थियो । जातीय धार्मिक दंगा गराउन खोजेको थियो । देश विखण्डन गर्न खोजेको थियो ।
अहिले फेरि प्रचण्डपथ सतहमा देखा परेको छ ब्याख्यात्मक टिप्पणीको नाममा । ब्याख्यात्मक टिप्पणी कानुनी क्षेत्रमा व्यापक प्रयोग हुने विधि तथा शब्दावली हो । तर, यसलाई राजनीतिक ढाँटछलमा पनि औपचारिक रुपमा प्रयोग गरियो ।
व्याख्यात्मक टिप्पणी प्रचण्डपथकै अर्को रुप हो भन्ने धेरैवटा प्रमाण दिन सकिन्छ । एमसीसी पास गर्नका लागि नेपाली कांग्रेसलाई कुनै बहाना चाहिएको थिएन । त्यसैले कांग्रेसलाई ब्याख्यात्मक टिप्पणी चाहिएको थिएन । प्रचण्ड र माधवकुमार नेपालको पार्टीलाई एमसीसी पास गर्न बहाना चाहिएको थियो । त्यसैले ब्याख्यात्मक टिप्पणी चाहिएको थियो । माधवकुमारको आफ्नै पार्टी पनि छ तर त्यसको अहिलेको राजनीतिक परिवेशमा स्वतन्त्र अस्तित्व देखिँदैन । माओवादी केन्द्रको भ्रातृ संगठनका रुपमा माधवको पार्टी रहेको छ । त्यसैले ब्याख्यात्मक टिप्पणी आविष्कार गर्न माधवको बेग्लै भूमिका छैन । जे भूमिका छ प्रचण्डकै भूमिका छ । तसर्थ, ब्याख्यात्मक टिप्पणी प्रचण्ड पथको निरन्तरता हो, नयाँ संस्करण हो ।
ब्याख्यात्मक टिप्पणीपछि नेपाली राजनीति अझ अप्ठ्यारो अवस्थामा पुगेको छ । ब्याख्यात्मक टिप्पणीको बहानामा राजनीतिक अस्थिरतालाई अझ गहिरो बनाइएको छ । जटिल बनाइएको छ । चुनाव रोक्न सकिने परिस्थिति निर्माण गरिएको छ । देशको दीर्घकालीन हितमा प्रहार गरिएको छ ।
एमसीसीमा ब्याख्यात्मक टिप्पणीको धेरै खालका साइड इफेक्टहरु आगामी दिनमा देखिने छ । ब्याख्यात्मक टिप्पणी किन आयो भन्ने पहिले प्रष्ट हुनुपर्छ ।
ब्याख्यात्मक टिप्पणीको इतिहास
ब्याख्यात्मक टिप्पणीको इतिहास माओवादी केन्द्र पार्टीको राजनीतिक पृष्ठभूमिमा लुकेको छ । माओवादी केन्द्र तथा यसका नेता पुष्पकमल दाहाल प्रचण्डले विगतमा ब्याख्यात्मक टिप्पणी धेरै पटक गर्नुभएको छ । तर त्यसबेला उहाँका त्यस्ता हर्कतलाई ब्याख्यात्मक टिप्पणी नाम दिइएको थिएन ।
माधवकुमारको आफ्नै पार्टी पनि छ तर त्यसको अहिलेको राजनीतिक परिवेशमा स्वतन्त्र अस्तित्व देखिँदैन । माओवादी केन्द्रको भ्रातृ संगठनका रुपमा माधवको पार्टी रहेको छ । त्यसैले ब्याख्यात्मक टिप्पणी आविष्कार गर्न माधवको बेग्लै भूमिका छैन ।
फनक्क कुरा बटार्ने, आग्राको कुराबाट एकैचोटी गाग्राको कुरामा पुग्ने, बिहान एउटा, दिउँसो अर्को र साँझ अर्को कुरा गर्ने प्रवृत्ति प्रचण्डको पूरानै हो । काशी जाने भनेर सबैलाई पछाडि लगाएर हिँड्ने तर जाने चाहिँ कुतीतिर । एकातिर जाने भनेर अर्कातिर किन लगेको भनी सोधियो भने कुतर्क अर्थात् ब्याख्यात्मक टिप्पणी गरिहाल्ने प्रचण्डको पुरानो बानी हो ।
प्रचण्डले साम्यवाद स्थापना गर्ने भनेर जनयुद्ध थाले । जनयुद्ध अलिकति फैलिएपछि समाजवादले पुग्छ भनियो । त्यसपछि संविधानसभाको माग राखियो । कहाँको संविधानसभा, कहाँको समाजवाद । त्यसमा प्रचण्डले ब्याख्यात्मक टिप्पणी दिएर कार्यकर्तालाई भ्रममा पारेकै हुन् ।
खुला राजनीतिमा आएपछि प्रचण्डले किन जनयुद्ध त्यागेको भन्ने विषयमा दिनहुँ स्पष्टिकरण दिनुपर्ने भयो । जनयुद्ध त्यागेको भन्न पनि नमिल्ने, त्यागेको भनौं भने कार्यकर्ता रिसाउने, जनयुद्धका नाममा १७ हजारलाई किन मारेको भनी प्रश्न उठ्ने । यस्ता प्रश्नहरुलाई छल्न, ढाँट्न तथा जनता र कार्यकर्तालाई झुक्याउन प्रचण्डले नानाथरीको वयान दिनुपरेको थियो । अहिलेको ब्याख्यात्मक टिप्पणीजस्तै जालसाजीपूर्ण वयान प्रचण्डले गर्नुपरेको थियो । त्यसबेला प्रचण्डको मतियार डा. बाबुराम भट्टराई पनि थिए । बाबुराम अहिले आफूलाई कम्युनिष्ट मान्दैनन् ।
शान्ति प्रकृयामा आएपछि प्रचण्डले ब्याख्यात्मक टिप्पणी गरेर कांग्रेस, एमाले तथा देशलाई नै बारम्बार ढाँटे । कार्यकर्तालाई कति हो कति ढाँटे । क्यान्टोनमेन्टमा बसेका माओवादी लडाकूको हातबाट हतियार थुत्न पनि अनेकौं ब्याख्यात्मक टिप्पणी जारी गरे । हतियार थुतेपछि पनि जनयुद्ध जारी छ भनेर ब्याख्यात्मक टिप्पणी दिए ।
०६३ मा माओवादी औपचारिक रुपमा संसदवादी बन्यो । संसदवादी बनेको होइनौं भन्दै ढाँट्यो । त्यसबेलाको दुईटा शब्द रोचक छ । संसदको नाम नै ‘व्यवस्थापिका संसद’ राखियो । त्यस्तो नाम राख्नु ‘क्याप टोपी’ भन्नुजस्तै थियो । व्यवस्थापिका भनेकै संसद हो, संसद भनेकै व्यवस्थापिका हो । संसद मात्र भनेर त्यसमा जाँदा जनतामा भ्रम दिन नसकिने भएकाले माओवादीकै करकापमा संसदको अगाडि व्यवस्थापिका थपिएको थियो । ‘व्यवस्थापिका’ शब्द अहिलेसम्मको सबैभन्दा छोटो ब्याख्यात्मक टिप्पणी थियो ।
संविधान निर्माणको बेला पनि प्रचण्डले बिहान एकखाले, दिउँसो अर्काे खाले ब्याख्यात्मक टिप्पणी गरेर देशलाई दिनसम्म दुख दिएका थिए । प्रचण्डले संविधान निर्माणका बेला अनुहार, जात र लिंग हेरेर फरकफरक ब्याख्यात्मक टिप्पणी जारी गरेर संविधान निर्माणलाई विथोल्नसम्म विथोलेका थिए ।
फनक्क कुरा बटार्ने, आग्राको कुराबाट एकैचोटी गाग्राको कुरामा पुग्ने, बिहान एउटा, दिउँसो अर्काे र साँझ अर्काे कुरा गर्ने प्रवृत्ति प्रचण्डको पूरानै हो । काशी जाने भनेर सबैलाई पछाडि लगाएर हिँड्ने तर जाने चाहिँ कुतीतिर । एकातिर जाने भनेर अर्कातिर किन लगेको भनी सोधियो भने कुतर्क अर्थात् ब्याख्यात्मक टिप्पणी गरिहाल्ने प्रचण्डको पुरानो बानी हो ।
संविधान बनेपछि पनि प्रचण्डले विभिन्न किसिमका ब्याख्यात्मक टिप्पणी गरेर राजनीतिक परिस्थिति बिगार्ने काम गरेका थिए । केपी शर्मा ओली सरकारका विरुद्ध प्रचण्डले ल्याएको १९ पेजको आरोपपत्र पनि एक खालको ब्याख्यात्मक टिप्पणी थियो । आफ्नै सरकार ढालेर कांग्रेसको सरकार बनाउन प्रचण्डले यति धेरै कुरा फेर्नुपरेको थियो, यति धेरै झुट र जालझेल गर्नुपरेको थियो कि त्यसले ब्याख्यात्मक टिप्पणीलाई नयाँ उचाईमा पुराएको थियो ।
प्रचण्डले कुरा फेर्न थाले भने बुझ्नुपर्छ नयाँ खालको ब्याख्यात्मक टिप्पणी जारी भएको छ ।
साइड इफेक्टहरु
ब्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गरिँदा सारा जनता चकित भएका छन् । ब्याख्यात्मक टिप्पणी देखेर एमसीसी समर्थकहरु पनि अचम्ममा परे, विरोधीहरु पनि छक्क परेका छन् । आम जनता आश्चर्यचकित भएका छन् । ढाँटछलको आश्चर्यजनक नमूना हो ब्याख्यात्मक टिप्पणी । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा रोचक जोक्स हो ब्याख्यात्मक टिप्पणी ।
ब्याख्यात्मक टिप्पणीपछि तातिएको राजनीतिक वातावरण केही ठण्डा हुन्छ भन्ने कसैले सोचेको छ भने गलत हो । अब राजनीति झन तातिने छ । राजनीतिलाई नतताई भएकै छैन प्रचण्ड र माधवहरुका लागि । प्रचण्ड र माधवको पार्टीलाई बेग्लाबेग्लै बुझ्नु हुँदैन, एउटै हो । दुवैको पार्टीलाई संयुक्त नाम नेकपा (ब्याख्यात्मक) दिन सकिन्छ । नेकपा (ब्याख्यात्मक)ले अब ब्याख्यात्मक टिप्पणीलाई चुनाव रोक्ने प्रयोजनका लागि प्रयोग गर्नेछ । आगामी बैशाख ३० गते स्थानीय निर्वाचन हुन गइरहेको छ । उक्त चुनावमा सहभागी हुने योजना तथा कार्यक्रम नेकपा (ब्याख्यात्मक)सँग छैन । चुनाव जसरी भए पनि रोक्ने नै नेकपा (ब्याख्यात्मक)को योजना हो । तसर्थ चुनाव रोक्ने कार्यका लागि प्रचण्ड तथा नेकपा (ब्याख्यात्मक)ले अर्काे ब्याख्यात्मक टिप्पणी जारी गर्नेछ ।
चुनाव, लोकतन्त्र, सहकार्य आदिमा प्रचण्डपथ फस्टाउन सक्दैन । भाँडभैलो, अस्थिरता, अशान्ति नै प्रचण्डपथको मन्त्र हो । त्यसैले प्रचण्डपथको विकसित रुप ब्याख्यात्मक टिप्पणीले स्थानीय निर्वाचन रोक्नका लागि आफ्नो अर्काे रुप देखाउने छ । नयाँ ब्याख्यात्मक टिप्पणी ल्याउने छ ।
नेकपा (ब्याख्यात्मक) टोलीले कांग्रेसलाई एमसीसी प्रकरणमा क्वाँक्वाँ रुवायो । नेकपा (ब्याख्यात्मक)सँग सरकारमा सँगै बस्न कांग्रेसलाई सहज लागिरहेको छैन । त्यसैले कांग्रेसले विकल्प खोज्नसक्छ । जनआवाज र राष्ट्रिय आवश्यकताको कदर गर्दै कांग्रेस र एमाले मिल्न सक्छन्, मिलेर निर्वाचन घोषणा गर्न सक्छन् । कांग्रेस र एमालेको सहकार्य र चुनाव घोषणा रोक्नका लागि प्रचण्ड–माधव अर्थात् नेकपा (ब्याख्यात्मक)ले ठूलो प्रयास गर्नेछ । एमसीसीमा ब्याख्यात्मक टिप्पणी गरेर गठवन्धन जोगाएपछि नेकपा (ब्याख्यात्मक)को हौसला बढेको छ । जसो गरे पनि कांग्रेसले सहन्छ भन्ने विश्वास बढेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री पद जोगाउन जे पनि गर्छन् भन्ने देखिएको छ । त्यसैले चुनाव रोक्नलाई जस्तोसुकै निन्दनीय, अनैतिक हर्कत गरे हुन्छ भन्ने नेकपा (ब्याख्यात्मक)लाई परेको छ ।
चुनाव रोक्न नेकपा (ब्याख्यात्मक)ले अब कस्तो कदम चाल्न, कस्तो ब्याख्यात्मक टिप्पणी जारी गर्छ भन्ने चिन्तासाथ हेर्न वाध्य छन् नेपाली जनता ।
अर्काे साइड इफेक्ट भनेको कांग्रेस अब कमजोर हुनेछ । एमाले र कांग्रेसलाई कमजोर बनाउनु नै नेकपा (ब्याख्यात्मक)को उद्देश्य हो । कांग्रेसलाई जति कमजोर बनाइन्छ उति नै उसले गठवन्धन गर्ने र गठवन्धनमा धेरै भाग दिने सम्भावना हुन्छ । ब्याख्यात्मक टिप्पणीपछि कांग्रेसलाई लाचार बनाउँदै लगिनेछ । कांग्रेस जति लाचार भयो प्रचण्डपथ त्यति लागू हुन्छ । प्रचण्डपथ अर्थात् ब्याख्यात्मक टिप्पणीको भित्री उद्देश्य कार्यान्वयन हुन्छ ।
ब्याख्यात्मक टिप्पणीको अर्काे उद्देश्य भनेको राजनीतिक अस्थिरता सिर्जना गर्नु हो । यसका लागि न्यायलय सहित संवैधानिक निकायहरुलाई भत्काउने, संसद्को अवरोध खोल्न प्रयास नगर्ने लगायतको काम गरिने छ । राजनीतिक अस्थिरता र अशान्ति सिर्जना गर्न नेकपा (ब्याख्यात्मक) कति चाहन्छ भन्ने गत हप्ताको दृष्य हेरे पुग्छ । आफैं सरकारमा बस्ने अनि आफैं सडकमा आएर ढुंगामुडा गर्ने, हिँसा र अशान्ति गर्ने कार्य नेकपा (ब्याख्यात्मक) ले गरेको थियो । नेकपा (ब्याख्यात्मक)कै उक्साहटमा सोमबार नेपाल बन्द आयोजना गरिएको हो । नेपाल बन्द गर्ने समूहहरु पनि प्रचण्डपथकै अनुयायी हुन् । बन्द गर्ने ८ साना पार्टीहरुलाई एमसीसीको मुद्दा उछालेर सडकमा आउन नेकपा (ब्याख्यात्मक)ले नै सिकाएको हो । अब ८ साना दलले अशान्ति गर्नेछन् । उनीहरुको अशान्तिलाई नेकपा (ब्याख्यात्मक)ले सघाउने छ ।
आगामी बैशाख ३० गते स्थानीय निर्वाचन हुन गइरहेको छ । उक्त चुनावमा सहभागी हुने योजना तथा कार्यक्रम नेकपा (ब्याख्यात्मक)सँग छैन । चुनाव जसरी भए पनि रोक्ने नै नेकपा (ब्याख्यात्मक)को योजना हो ।
जति ढाँटछल गरे पनि केही फरक पर्दैन भन्ने नेकपा (ब्याख्यात्मक)ले बुझेको छ । विशेषगरी प्रचण्डको ढाँटछल र कुरा फेरेको घटनाहरु संकलन गर्ने भने एउटा मोटो पुस्तक नै बन्छ ।
ब्याख्यात्मक टिप्पणीपछि प्रचण्ड तथा नेकपा (ब्याख्यात्मक)लाई के लागेको छ भने जति मनपरी गरे पनि फरक पर्दैन । आफ्नो स्वार्थका लागि जति भाँडभैलो गरे पनि फरक पर्दैन । ब्याख्यात्मक टिप्पणी काण्डपछि नेकपा (ब्याख्यात्मक)को कार्यकर्ता घटे होलान्, अलिअलि बाँकी रहेको जनसमर्थन पनि समाप्त भयो होला तर केही फरक पर्दैन । चुनाव लड्नेलाई मात्र कार्यकर्ता र जनता चाहिन्छ, चुनाव नै नलड्नेलाई केही पनि चाहिँदैन, पावर भए पुग्छ । चुनाव नै लड्नुपरेको अवस्थामा पनि कांग्रेसको काखमा बसेर लड्ने हो ।
नेपाली राजनीतिमा अनैतिकता, बेइमानी, ढाँटछल पुरानै प्रवृत्ति हो । ब्याख्यात्मक टिप्पणीपछि यस्तो प्रवृत्ति अरु धेरै नै फैलाउन प्रयास गरिने छ ।
( डा.पोखरेलले अमेरिकाको युनिभर्सिटी अफ नर्थ टेक्सास विश्वविद्यालयबाट केमिस्ट्रीमा पिएचडी हुनुहुन्छ । दुई दशकदेखि नेपाल तथा अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजमा प्राध्यापन गरिरहनुभएको छ ।)







प्रतिक्रिया