अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेल सम्भव छैन : प्रवक्ता डा. महत

स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेल सम्भव छैन : प्रवक्ता डा. महत


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने बताउनु भएको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताउनु भएको हो ।

उहाँले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गर्नुभयो । तर यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताउनुभयो ।

प्रवक्ता महत भन्नुहुन्छ, ‘स्थानीय आवश्यकताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरू पनि हुन सक्दछ। कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ। तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन। आवश्यकताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाइदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूर्ण कुरा निर्भर गर्छ। र, गठबन्धनमा सम्मिलित हरेक दलहरुले दलभित्र यसको मूल्यांकन गर्लान र एउटा निचोडमा पुग्लान्।’

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताउनुभयो ।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उहाँको तर्क थियो।