विराटनगर – स्नातकोत्तर क्याम्पस विराटनगरमा वनस्पतिशास्त्र र प्राणीशास्त्र विषय अध्ययनरत विद्यार्थीका लागि फेलोसिपको स्थापना भएको छ । प्रत्येक वर्ष दुईजना विद्यार्थीलाई प्रदान गर्ने गरी मिलन दाहाल फेलोसिपको स्थापना भएको छ ।
सोही क्याम्पसका पूर्वविद्यार्थी हाल नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिलन दाहालले यहाँ कार्यरत संस्था नेपाल जैविक समाजमार्फत् उपयुक्त विद्यार्थीलाई प्रदान गर्ने गरी फेलोसिपको स्थापना गर्नुभएको हो । फेलोसिपको राशि जनही २५ हजार रुपैया रहेको छ ।
हरेक वर्ष उक्त विषयमा शोधकार्य गर्ने विद्यार्थीहरूमध्ये समाजमा विशेष योगदान पु¥याउने खालको शोधकार्यका लागि फेलोसिप प्रदान गरिने संस्थापक दाहालले बताउनुभयो । यद्यपि छनौट गर्ने जिम्मेवारी नेपाल जैविक समाजलाई दिइएको छ । सो संस्थाले सम्बन्धित विभागसँग समन्वय गरी उपयुक्त शोधार्थीको छनौट गर्ने वनस्पतिशास्त्र विभागका प्रमुख प्राडा उमेश कोइरालाले बताउनुभयो ।
फेलोसिप संस्थापक र दुवै विभागका प्रमुखहरुकोे उपस्थितिमा नेपाल जैविक समाजको बुधबारको वैठकले यस वर्षका लागि प्राणीशास्त्रबाट शंकर पाण्डे र वनस्पतिशास्त्रबाट ओमप्रकाश अर्याललाई छानेको छ । दुबै जनालाई पहिलो किस्ता रकम समेत प्रदान गरिएको छ । पाण्डेले लोपोन्मुख चरा गिद्धको गतिविधि र अर्यालले सुनवर्सी पोखरीको सूक्ष्म वनस्पतिका विषयमा शोधकार्य गरिरहनु भएको छ ।
बुधबार आयोजित फेलोसिप वितरण कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्राडा शशिनाथ झाले पछिल्लो पुस्तालाई प्रेरित गर्ने सोचका साथ दाहालले फेलोसिप स्थापना गरेर उदाहरण प्रस्तुत गर्नु भएको बताउनुभयो । संस्थापक दाहालले यो फेलोसिपमा आफ्ना कुनै सर्तहरु नहुने बरु अरुहरुलाई पनि यस कार्यले प्रोत्साहित गर्ने आशा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्राणीशास्त्र विभागका प्रमुख प्राडा दामोदर थापा, जैविक समाजका महासचिव प्राडा शिवकुमार राईलगायत प्राध्यापक र विद्यार्थीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया