अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसायनिक मल उपलब्ध गराउन एमालेको माग

रसायनिक मल उपलब्ध गराउन एमालेको माग


झापा – संघ र प्रदेश १ को प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले समयमानै रसायनिक मल समयमा उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेको जनाएको छ ।

किसानहरुले चैते धान रोप्न बीउ ठिक्क पार्दा समेत बजारमा माग अनुसारको रसायनिक मल उपलब्ध हुन नसक्नु दुःखद भएको एमाले नेताहरुको भनाई छ । अखिल नेपाल किसान महासंघका प्रदेश १ ईन्चार्ज समेत रहेका एमाले प्रदेश १ कमिटी सदस्य बेनुप्रसाद शिवाकोटीले प्रदेश १ मा चैते धान लगाउने किसानको संख्या ठूलो भएपनि समयमा मल पाउन नसक्दा किसान निराश बनेको बताउनु भयो । यस वर्षको हिउँदे बालीमा समेत पर्याप्त मल लगाउन नपाउँदा किसानले अपेक्षित लाभ लिन नसक्दा किसानहरु माथि थप आर्थिक भार थपिने अवस्था आएको उनको भनाई छ ।

एमाले कमल गाउँकमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलले बहुसंख्यक नागरिक किसान रहेको मुलुकमा सरकारले मल समेत उपलव्ध गराउन नसक्नु दुखद् रहेको बताउनु भयो । किसानहरुलाई समयमानै माग अनुसारको रसायनिक मल, बीउ तथा प्रविधि उपलव्ध गराउन पार्टीको बैठकमा समेत छलफल गरिएको उहाँको भनाई छ । बजारमा महङ्गी निरन्तर बढी रहनु, कृषि उपजको आयात समेत उच्च हुनु र नेपाली किसानले मल–बिउ समेत समयमा नपाउनुले नेपालको अर्थतन्त्र झनै कमजोर बनाउने अवस्था सिर्जना हुन लागेको उहाँले बताउनु भयो ।

एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्लेले भने अहिलेको सरकारबाट किसानले कुनै पनि सुविधा अपेक्षा नगरेकाले अझै पनि समयमा मल बीउ पाइन्छ भन्ने आशा नगरिएको बताउनु भयो । यसको समस्या समाधानका लागि स्थानीय सरकारहरुले पनि स्थानीय श्रोत साधनको माध्यमबाट जैविक र अर्गानिक कृषि प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ । कमल गाउँपालिका अध्यक्ष समेत रहेका उहाँले कमल गाउँपालिकाले भने विगतका वर्षहरु देखि नै प्राथमिकताका साथ यस तर्फ ध्यान दिएको बताउनु भयो ।

कृषिको व्यवसायीकताका लागि गाउँपालिकामा नै माटो परीक्षण ल्याव सञ्चालन, जैविक मल उत्पादन र वितरण, किसानका खेतबारीमानै पुगेर प्राविधिकद्वारा परीक्षण र परामर्श जस्ता कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको उहाँले बताउनु भयो ।