अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक,एमसीसीबारे विवाद चर्किने सम्भावना

आज देखि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक,एमसीसीबारे विवाद चर्किने सम्भावना


काठमाडौ -नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ । पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बैठकमा एमसीसीबारे ‘नोट अफ डिसेन्ट’ राखिने जानकारी दिनुभयो ।

“केन्द्रीय कमिटीको बैठकमा हाम्रा कुरा राख्छौँ । एमसीसी सम्झौताका बारेमा बहसका निम्त भिन्न मत भनेर हामी राख्छौँ,” पोखरेलको भनाइ छ, “पारित भइसकेको स्थितिमा नोट अफ डिसेन्ट राख्छौँ ।”

गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।
त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
केन्द्रीय कमिटी बैठकले अरू पदाधिकारीको टुंगो लगाउने नेताहरू बताउँछन् । बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो ।

एक पूर्वस्थायी कमिटी सदस्य अध्यक्ष प्रचण्डले पदाधिकारी टुंग्याउने गृहकार्य गरेको भए मात्रै अहिले पदाधिकारी चयन हुने बताउँछन् । “सकेसम्म सहमतिमा नै पदाधिकारी चयन गर्ने भन्नेमा जोडबल रहन्छ । अध्यक्ष कमरेडले गृहकार्य गरेर ल्याए पदाधिकारीको टुंग्गो लाग्छ । एमसीसीले पार्टीमा ल्याएको विवादले प्रभावित पार्न पनि सक्छ,” ती नेताले भने ।

अर्का एक नेता भने स्थानीय तहको निर्वाचन आइसकेकाले पदाधिकारी गठन गर्नैपर्ने बाध्यता रहेको बताउँछन् । “स्थानीय चुनाव आइसकेको छ । अब पनि पदाधिकारी चयन भएन भने पार्टीको हालत कस्तो हुन्छ, पार्टीलाई अघि बढाउन त गठन हुन्छ भन्ने लाग्छ,” ती नेताको भनाइ छ ।

माओवादी केन्द्रमा स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्न बाँकी छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्ने ढकालले बताए । स्थायी कमिटीमा पूर्वस्थायी कमिटीका सदस्यहरू नै दोहोरिने सम्भावना छ ।