अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटनको माधव नेपालको प्रस्ताव : चुनावको हाउगुजी

संसद विघटनको माधव नेपालको प्रस्ताव : चुनावको हाउगुजी


काठमाडौं– स्थानीय चुनावमा गठबन्धन नगर्ने अडान कांग्रेसमा बलियो हुँदै गएपछि माओवादी र एकीकृत समाजवादीमा छट्पटहाट सुरु भएको छ । त्यसको अभिव्यक्ति नेताहरुले विभिन्न ढंगले गर्न थालेका छन् । ‘संसद विघटन गरौं, संघीय चुनाव गरौं’ भन्ने माधव नेपालले हिजो गरेको प्रस्ताव त्यसैको पछिल्लो उदाहरण हो । यो प्रस्ताव प्रचण्डले पुस ५ गते गर्नुभएको थियो ।

गतवर्ष यो संसदले काम गर्न सकेन,नयाँ जनादेशमा जाँउ भनेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा सबभन्दा बढी विरोध गर्ने यिनै नेता हुनुहुन्थ्यो । तर संघीय संसदको म्याद अझै एक वर्ष बाँकी छंदै किन उहाँहरु विघटनको प्रस्ताव गरिरहनुभएको छ ?

यसका केही कारणहरु छन् । पहिलो कारण कांग्रेसको वैशाखी टेक्न नपाउँदा आफ्नो पार्टी शर्मनाक रुपमा पराजित हुने डर माधवलाई छ । देशी विदेशी शक्ति केन्द्रको आडमा पार्टीका केही नेताहरु लिएर एमालेबाट छुटीभिन्न भएका माधवका पक्षमा कार्यकर्ता मात्र होइन मतदाताको पनि रुझान देखिएन । ठूलो हुंकारका साथ एमालेबाट अलग भएका नेपालको सक्कली आकार चुनावमा देखिने भएपछि त्यसलाई केही महिनालाई भए पनि छल्न अहिले संसदको विघटनको नयाँ प्रस्तव अघि सारिएको छ ।

दोस्रो एमालेको निरन्तरको संसद अवरोध र आफू सहित १४ जना सांसदकोे पद कायम हुने वा नहुने भनेर अदालतमा विचाराधिन रहेको मुद्दामा कुनै पनि बेला हारिने त्रास माधव नेपालमा छ । यदि त्यो अवस्था आयो भने नैतिक रुपमा आफ्नो पार्टीको हैसियत सकिने नेपालको ठम्याइ छ ।

सूर्य चिन्हबाट संसदमा छिरेका तर पछि समाजवादीका १४ जना सांसदलाई एमालेले नयाँ पार्टी बन्नु भन्दा पहिला नै कारबाही गरेको हो । सो कारबाहीको सूचना तत्कालै सभामुख अग्नि सापकोटाले सूचना टाँस गर्नुपर्नेमा दराजमा थन्क्याइदिनुभयो । जसले गर्दा समाजवादी पार्टी संसदको हैसियतमा उनीहरु अहिले पनि बहाल छन् । आफ्नो पदावधी बहाल छँदै संसदबाट विदा हुनु परेमा उनीहरुले पार्टी फुटाएको जवाफ हरेक ठाउँमा दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा निर्वाचनमा अलग्गै पार्टी बनाएर जाने नैतिकता कमजोर हुने माधव नेपालको बुझाइ छ ।

माधव नेपालले संसद विघटन गरेर अर्ली इलेक्सनको प्रस्ताव गर्ने अर्को कारण कांग्रेसलाई दबाब सृजना गर्न पनि हो । माधव नेपालको बुझाइ के छ भने आगामी निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने चाहना राख्दै हुनुहुन्छ । त्यसका लागि संघीय निर्वाचनमा गठबन्धन कायम गर्ने सर्त देउवाले सजिलै मान्ने सम्भावना छ । स्थानीय निर्वाचनमा गठबन्धन गर्न देउवालाई जति गाह्रो परेको छ ,संघीयका लागि छैन । माधव नेपालको भागमा केही सिट सुनिश्चित गरेर देउवा चुनावमा जान राजी हुने बुझेका नेपालले त्यही भावनामा खेलेर आफ्नो राजनीति सुरक्षित गर्न सकिएला कि भनेर संसद विघटनको प्रस्ताव गरेको कुरा बुझ्न मुस्किल छैन ।

नेपालले संसद विघटन माग गर्नुको अर्को कारण कमजोर संगठन हो । राजनीतिक दलहरुका लागि निर्वाचनको परिणाम नै पाकेर थन्क्याएको बाली हो । बर्षभरी जति मेहनत गरेर मलजल गरे पनि निर्वाचनमा परिणाम आएन भने त्यो फल नलागेको मेवा सरह हुन्छ । पार्टीबाट चोइटिएको वर्ष दिन पनि नपुगेको माधव नेपालको पार्टीले अहिले कही कतै संगठन निर्माण गर्न सकेको छैन । उनको पक्षमा लागेका कार्यकर्ता पनि फेरी एमालेतिरै फर्कंदैछन् । जसले गर्दा माधव नेपाललाई एउटा झिनो आशा छ निर्वाचनहरु धकेल्दै जाने हो भने आफूले पनि संगठन केही बलियो बनाउन सकिन्छ कि ?

तर परिस्थितिहरुले माधव नेपाल यी मिठा सपनाहरु पूरा हुन दिने देखिदैन । किन कि संसद विघटनको माग गरिरहँदा समाजवादीकै नेता कार्यकर्ताले माधव नेपाललाई सोध्नेछन् ‘केपी ओलीले गरेको संसद विघटनको धुरन्धर विरोध गरेर पार्टी फुटाउने तपाईं अहिले के कारणले ओलीको लाइनमा हुनुहुन्छ ?’ त्यसबेला माधव नेपालले कार्यकर्तालाई दिने उत्तर के होला ? सबैको चासो छ ।