विराटनगर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले निर्वाचन नगर्नका लागि बहाना गरिरहेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गठबन्धन सरकार संविधान र कानुनको कुरा गरेर चुनावदेखि भाग्न खोजेको आरोप समेत लगाउनुभयो । महासचिव पोखरेलले निर्वाचन भएमा गठबन्धनसँग एमाले चुनावी प्रतिस्पर्धामा जाने बताउनुभयो ।
हिजोआज स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै उहाँले अब जनताले दुई दलमध्ये एक रोज्नुपर्ने बताउनु भयो ।
अर्थतन्त्रलाई अघि बढाउन सरकार असफल भएको भन्दै महासचिव पोखरेलले मुलुकको सञ्चित कोष विपत्ति आए टार्न नसक्ने स्थितिमा पुगेको दावी गर्नुभयो । विकास निर्माणको काम पनि ठप्प भएको उहाँले बताउनुभयो ।
एमालेले फागुन २५ गते रंगेलीमा तराई मधेस केन्द्रित जनसभा गर्ने निर्णय भएको छ । सभामा ५० हजार सहभागी हुने एमालेका मोरङ जिल्ला सचिव रूपेश खतिवडाले जानकारी दिनुभयो ।







प्रतिक्रिया