काठमाडौँ – उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगी गर्ने गिरोहका ९ जनालई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
अनुसन्धानमा खटेका विशेष प्रहरीको टोलीले काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अर्घाखाँची छत्रदेव गाउँपालिका–६ ठुलापोखरीका २६ वर्षीय अमर पाण्डे, अर्घाखाँची छत्रदेव गाउँपालिका–६ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे, काठमाडौं बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङ दूधपोखरी गाउँपालिका–२ घरका २२ वर्षीय आनन्द मरहठ्ठा, काठमाडौं कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक तथा सिरहा नगरपालिका–१९ का २३ वर्षीय विवेक यादव छन् ।
त्यस्तै काठमाडौं महानगरपालिका–३२ आकाशेपुलस्थित एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका–३ का २८ वर्षीय अश्विन राई, काठमाडौं कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुली फिक्कल गाउँपालिका–२ मन २२ वर्षीय घनश्याम पहाडी, काठमाडौं चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालक रौतहट चन्द्रपुर नगरपालिका–४ का २५ वर्षीया सृजना लामिछाने, काठमाडौं कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका मोरङ विराटनगर उपमहानगरपालिका–४ का ४० वर्षीया ज्ञानु न्यौपाने र काठमाडौं कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रौतहट मौलापुर गाउँपालिका–५ का २२ वर्षीय रामवचन कुमार यादव रहेका छन् ।
उक्त कम्पनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनी प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फारम भर्ने बहानामा रु.३०० देखी रु.५०० सम्म फारम चार्ज तथा १००० देखि ६००० सम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको थियो ।
फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केही सम्मानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको अनुसन्धान बाट खुलेको छ । कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया