अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली महिला आन्दोलनका गलत प्रवृत्तिहरु

नेपाली महिला आन्दोलनका गलत प्रवृत्तिहरु


हल्ला चलाउन र भ्रम फैलाउन सजिलो देश हो नेपाल । कालोलाई सेतो र सेतोलाई कालो भनेर स्थापित गर्न पनि सजिलो देश हो नेपाल । उत्तेजक र आकर्षक खोल हालेर विचार फैलाउन झनै सजिलो छ नेपालमा । नारी दिवसको प्रसंगमा यो कुरा लेख्न लागिएको हो ।

नेपालको महिला आन्दोलन अनेकौं भ्रम, झुठको खेती, राजनीतिकरण, असामाजिकीकरण बीचमा चलिरहेको छ । महिलाका समस्या सम्बोधन गर्ने भन्दा पनि समस्यालाई बहाना बनाएर खेती गर्ने गरिएको छ । नेपाली महिला आन्दोलनलाई सही बाटोमा हिँडाउन यसमा रहेका भ्रमहरुलाई हटाउन जरुरी छ । नेपालको समाज र संस्कृति सापेक्ष महिला आन्दोनलाई परिभाषित गर्न जरुरी छ ।

महिलामाथिको विभेदलाई संस्कृतिसँग पनि गासेर हेर्ने गरिएको छ । संस्कृतिमा परम्परा हुन्छ तर सबै परम्परा संस्कृति होइनन् । संस्कृति असल हुन्छ, खराब चिजलाई संस्कृति मान्न सकिँदैन । महिलामाथिको विभेद परम्परागत छ । विभेद संस्कृति होइन । विभेदपूर्ण परम्परालाई संस्कृति मान्न सकिँदैन । महिलामाथिको विभेदलाई संस्कृतिसँग गाँस्ने जबर्जस्ती प्रयास गरिँदै आएको छ । जस्तो कि बोक्सीप्रथा । बोक्सीप्रथालाई जर्बजस्ती संस्कृतिसँग गास्ने गरिएको छ । बोक्सीप्रथा नेपाली संस्कृति होइन । यो खराब परम्परा हो । खराब परम्परा सबै समाजमा हुन्छ । बेलायती समाजमा पनि बोक्सी परम्परा छ । बोक्सी प्रथालाई वेलायतको संस्कृति भन्न मिल्दैन । तर, पश्चिमाहरुले नेपालको बोक्सीप्रथालाई नेपाली संस्कृतिका रुपमा प्रचार गर्ने गरेका छन् ।

संस्कृति र खराब परम्परालाई मिसाएर नेपाली संस्कृति उपर मात्र नभएर धर्ममाथि पनि आक्रमण गर्ने गरिएको छ । विश्वमा प्रचलित सबै धार्मिक परम्परामा महिलामाथि विभेद छ । अन्य धर्मले गरेका विभेद ढाकछोप हुने तर नेपालका धार्मिक परम्पराहरुले गरेको विभेदलाई बढाईचढाई गर्ने गरिएको छ । धर्मका नाममा चलाईएका खराब परम्परालाई सिंगै धर्मसँग गास्ने, संस्कृतिका नाममा चलाइएका खराब परम्रालाई सिंगै संस्कृतिसँग गास्ने प्रवृत्ति ठीक होइन । महिलामाथिका विभेदलाई पनि धर्म र संस्कृतिसँग गास्नु ठिक होइन । महिलाका अधिकार, आत्मसम्मानसँग गासिएको आन्दोलन नेपालका धर्म र संस्कृतिका विरोधी होइनन् । महिला अधिकारको बहानामा धर्मसंस्कृतिमाथि आक्रमण गर्ने, धर्मसंस्कृति विरोधी भावना फैलाउने काम सुनियोजित रुपमा गरिएको छ कि ? यो विषयमा सबैेले सचेत हुन जरुरी छ ।

डेढ दशक अघि नेपालमा ‘मुक्ति’ भन्ने शब्द असाध्यै चल्तीमा थियो । माओवादीले आपराधिक जनयुद्ध गरेको बेला मुक्ति शब्द ल्याएको थियो । शिकारीले चारो फाले जसरी मुक्ति शब्दको चारो माओवादीले फालेको थियो । माओवादीले सबैलाई ‘मुक्ति’ दिँदै हिँडेको थियो । विभिन्न जातथरका मानिसलाई मुक्ति दिन्छु भन्दै माओवादीले कथित मुक्ति मोर्चाहरु बनाएको थियो । महिलालाई पनि मुक्ति दिने भन्दै हिँडेको थियो ।

सकारात्मक र नकारात्मक वन्धन
माओवादीले नै हो महिलाको सन्दर्भमा मुक्ति शब्दको व्यापक दुरुपयोग गरेको । महिलालाई मुक्त गर्ने भन्दै माओवादीले मच्चाएको वैचारिक वितण्डा अझै थामिएको छैन । माओवादीले नेपालका हरेक समस्यालाई अतिरन्जित गर्यो । समस्या रहित देश र समाज विश्वमा एउटा पनि छैन । नेपालमा पनि धेरै किसिमका समस्याहरु छन् । कुनै पनि समस्या देशका अभिशाप हो तर माओवादीले समस्यालाई वरदानका रुपमा उपयोग गर्यो । अहिले पनि देश समस्यामा फस्नु माओवादीले आफ्ना लागि वरदान ठान्ने गरेको छ । त्यसैले देशमा समस्या नै समस्या सिर्जना गर्न माओवादी अहिले पनि लागिरहेको छ ।

नेपालको महिला आन्दोलनलाई माओवादीले अत्यन्तै गलत बाटो दिएको छ– मुक्ति शब्दको दुरुपयोग गरेर । समाज आफैंमा वन्धन हो । समाजमा वन्धनरहित केही पनि हुँदैन । मानिस स्वतन्त्र जन्मन्छ तर उमेर बढ्दै जाँदा उसले आफूलाई चारैतिरबाट वन्धनले घेरिएको पाउँछ भनेका थिए फ्रेन्च दार्शनिक रुसोले । मानवको अपरिहार्य नियति यही हो, प्राकृतिक नियति पनि यही हो । यो प्राकृतिक नियति बदल्न सकिँदैन ।

वन्धनको अर्थ सकारात्मक र नकारात्मक दुवै हुन्छ । माओवादीले वन्धनलाई नकारात्मक रुपमा प्रचार गर्यो र त्यसको आडमा मुक्ति शब्द चलायो । के भ्रम पार्यो भने नेपालका सबै जातथरका मानिस, सबै क्षेत्रका मानिस, सबै लिंगका मानिस वन्धनमा छन् । नकारात्मक बन्धनमा छन् भनेर यति प्रचार गर्यो कि माओवादीले खोलेका विभिन्न खालका जातीय मोर्चाले राम्रै संगठन समेत बनायो । वन्धनका विरुद्ध मुक्ति भन्ने नारालाई माओवादीले राम्रैसँग बेचेको थियो ।

महिलालाई पनि माओवादीले मुक्ति दिने भन्यो । महिला पुरुष सबै समाजको वन्धनमा छन् । विवाह वन्धन नराम्रो हो ? प्रेम वन्धन नराम्रो हो ? पारिवारिक वन्धन नराम्रो हो ? समाजको वन्धन नराम्रो हो ? नातागोताको वन्धन नराम्रो हो ? वन्धनको अर्थ गाँठो पनि हो । वन्धनको अर्थ मिलन पनि हो, एकता पनि हो । माओवादीले वन्धनलाई नकारात्मक अर्थमा प्रयोग गरेर दुष्प्रचार गर्यो । अतिरञ्जित प्रचार गर्यो ।

वन्धनको नकारात्मक अर्थ मात्र हुँदैन, वन्धन राम्रो पनि हो भन्नेमा ध्यान नदिई माओवादीको कथित मुक्तिको नारामा धेरै महिला फसे । कथित मुक्तिको उत्तेजनामा माओवादीले धेरै मानिसलाई फसायो । मुक्ति चाहियो भन्ने खालको महिला आन्दोलन अहिले पनि जिवित छ । कथित मुक्तिको नाराले गलत बाटोमा लगाउँदा नेपालको महिला आन्दोलनले लिनुपर्ने बाटो लिएन । हुनुपर्ने जत्रो आकार महिला आन्दोलनको भएन ।

विभेद, अतिरञ्जना र दुष्पप्रचार
विश्वका अन्य समाजमा जस्तै नेपाली समाजमा पनि महिलामाथि विभेद छ, अन्याय छ, अत्याचार छ । नेपाल करिब तीन करोड जनसंख्या भएको देश हो । यति जनसंख्याभित्र विभिन्न संस्कृति र परिवेश भएको धेरै खालको समाज छ । विभिन्न जाति धर्मका मानिस छन् । महिलामाथि हुने विभेद, अन्याय र अत्याचार सबै समाजमा एकै खालको छैन । महिला आन्दोलनमा संलग्न कतिपय पक्षले नेपालका सम्पूर्ण महिलाको समस्या एउटै हो, एकै खालको हो भन्ने ढंगले कुरा उठाउने गरेको छ । यो गलत हो । केही गैरसरकारी संस्थाहरुले यस्तो गल्तीका लागि उक्साइरहेको देखिन्छ ।
नेपालका सबै महिलाको समस्या एकै खालको छैन भन्ने सबैलाई थाहा भइसकेको छ, यसबारेमा थप लेख्न आवश्यक छैन । खासगरी एनजीओ प्रेरित महिला आन्दोलनको एउटा पक्षले नेपालका सम्पूर्ण महिला जंगली अवस्थामा छन्, उनीहरु माथि अत्याचार नै अत्याचार छ, तालीवान शासनमा जस्तो अवस्था नेपाली महिलाको छ भन्ने ढंगले प्रचार गर्ने गरेको छ ।

अमेरिकाकोे एउटा सहरमा केही वर्ष अघि केमेस्ट्री सम्बन्धी सेमिनारमा सहभागी हुँदा मलाई नेपाली महिला भएर कसरी पिएचडी गर्न सम्भव भयो भनेर सहभागीहरुले सोध्दा म स्तब्ध भएकी थिएँ । उनीहरुलाई नेपालका महिलाले पढ्नै पाउँदैनन् भन्ने धारणा रहेछ । त्यसपछि नेपाली महिलाको अवस्थाबारे मैले सेमिनारको अति महत्वपूर्ण पाँच मिनेट खर्च गर्न परेको थियो । अमेरिकामा भन्दा धेरै संख्यामा नेपालमा महिलाहरु सांसद् छन्, महिला सभामुख छन्, महिला नै राष्ट्रपति छन्, नेपालमा अनिवार्य शिक्षाको व्यवस्था छ र छोरीलाई पनि विद्यालय पठाउनैपर्छ भन्दा सहभागीहरुले अविश्वासपूर्वक मलाई हेरेका थिए ।

अमेरिकाको एक कलेजमा पढाउँदा विद्यार्थीहरुले मलाई के सोधे भने नेपाल जस्तो देशमा तपाईंले कसरी पढ्नुभयो ? त्यहाँ त महिलालाई पढाईंदैन, उमेर नपुग्दै विवाह गरिन्छ, मन परेको लुगा लगाउन पाउँदैनन्, पुरुषले जति पनि अत्याचार गर्न पाउँछ, महिलाको कुनै अधिकार हुँदैन भने । नेपाल बाहिर नेपाली महिलाको अवस्थाबारे यसरी प्रचार गरिएको छ । यस्तो प्रचार गर्ने वातावरण नेपालभित्रैबाट बनाइएको हो । नेपालमा महिलामाथि भएको विभेदलाई अतिरञ्जित मात्र गरिएको छैन, गलत तरिकाले प्रचार समेत गरिएको छ ।

कमजोर छैनन् नेपाली महिला
नेपाली महिला आन्दोलनले तत्काल गरिहाल्नुपर्ने काम भनेको महिलामा आत्मविश्वास जगाउने हो । हामीमाथि विभेद नै विभेद छ भन्ने अतिरञ्जित प्रचार बन्द गर्नुपर्छ । महिलाले गर्न सक्दैनन्, महिलाको सबै बाटो छेकिएको छ भन्ने प्रचारले फाइदा गर्दैन । महिलालाई केके अवसर छ त्यसको प्रचार गरिनुपर्छ । विश्वलाई उदाहरण देखाउन लायक महिला नेपालमा छन् । हाम्रो धर्म, संस्कृति, राजनीति, परम्परामा उदाहरण दिन सकिने महिला धेरै छन् । उनीहरुकोे उदाहरणमा जोड दिनुपर्छ । महिलाले सक्दैनन् होइन, महिलाले सक्छन् भन्ने भावना जगाउनुपर्छ । महिला आन्दोलनले राजनीतिक र संवैधानिक पक्षमा मात्र जोेड दिएर अब पुग्दैन । मनोवैज्ञानिक पक्षमा पनि जोड दिनुपर्छ । मनोवैज्ञानिक रुपमा महिलालाई कमजोेर छौ, हामीमाथि विभेद मात्र छ भन्ने प्रचार महिला आन्दोलन भित्रैबाट अन्जानमै हुन गएको छ । यस्तो प्रचारमाा विभिन्न स्वार्थ समूहहरुको पनि भूमिका हुनसक्छ ।

भएका उपलब्धीहरुको प्रचारमा महिला आन्दोलनले जोड दिनुपर्छ । महिलाले नेपालमा पाउन धेरै बाँकी छ । अहिलेसम्म महिलाका हक अधिकार प्राप्तिमा भएका उपलब्धीहरुको जगमा टेकेर महिलालाई शशक्त बनाउँदै जानुपर्छ । महिलामा हीन भावना जगाउने ढंगले कुनै पनि गतिविधि तथा प्रचार गरिन हुन्न । महिलामाथि भएका विभेद, अत्याचार र अपराधका घटनालाई सामान्यीकरण गर्न बन्द गरिनुपर्छ । कोही एकजना महिलामाथि अत्याचारको घटना हुँदा सम्पूर्ण महिला माथि एकसाथ अत्याचार भएको छ भन्ने ढंगले प्रचारमा उत्रनु हुँदैन । यसो गर्दा समस्त महिलाको आत्मविश्वास खस्कन्छ । मनोबल गिर्छ । यस्तो प्रचार गर्दा कतिपय एनजीओ तथा पार्टीका भ्रातृ संगठनहरुलाई फाइदै होला तर महिला आन्दोलनलाई फाइदा गर्दैन ।

नेपालको महिला आन्दोलनलाई नेपालका धर्म र संस्कृतिप्रति द्रोेह गराउने, विद्रोह गराउने ढगले सुनियोजित प्रयास भइरहेको छ । नेपालको धर्म संस्कृतिहरुको रक्षा गर्ने, संरक्षण गर्ने र अगुवाई गर्ने काम पनि महिलाकै हुनुपर्छ । महिलामाथि परम्पराले विभेद गरेको हो । खराब परम्परालाई धर्म र संस्कृतिसँग जोड्न बन्द गरिनुपर्छ । भाग्यवादी चिन्तनलाई सम्पूर्ण रुपमा नकारिनुपर्छ ।

नेपालमा महिला आन्दोलननको अर्थात् महिलाको भविष्य उज्जवल छ । महिलाको अवस्था विगतमा जे थियो अहिलले त्यस्तो छैन । भविष्यमा अहिलेभन्दा राम्रो हुनेछ । आशावादी बन्नुपर्छ । निराशावादी बनेर तथा बनाएर महिला आन्दोलनले मात्र नभएर कुनै पनि आन्दोलनले उपलब्धी गर्न सक्दैन ।

मुख्य कुरा के हो भने हामीले महिला आन्दोलन भन्न बन्द गर्नुपर्छ । अभियान भन्नुपर्छ । महिलाको हक अधिकार प्राप्तिका लागि, आत्मसम्मानका लागि अहिलेसम्म चलाईंदै आएको आन्दोलनलाई अभियानका रुपमा झन् माथि उठाउनुपर्छ ।