अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

८ मार्च : नारी दिवसकै दिन पाएको दर्दनाक पीडा भुल्दै राधा चौधरी

८ मार्च : नारी दिवसकै दिन पाएको दर्दनाक पीडा भुल्दै राधा चौधरी


धनगढी – तीन वर्ष बोक्सी भन्दै स्थानीयबाट कुटपिटमा पर्नुभएका राधा चौधरी विस्तारै पीडा भुल्दै हुनुहुन्छ। घरायसी काममा व्यस्त हुने राधाको घाउमा समाजले मल्हम लगाइरहेको छ । ‘समाजमा जाँदा गलत व्यवहार भएको मैले पाएको छैन,’ राधा भन्नुहुन्छ, ‘सबैले माया गरेका छन्, आवश्यक परेको सहयोग सबैले गरिरहेका छन्, जसले मलाई विगतको पीडा बिसर्न मद्दत गरेको छ ।’

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियामा बस्दै आउनु भएका राधा चौधरीमाथि २४ फागुन २०७५  (नारी दिवसकै) दिन बोक्सीको आरोपमा स्थानीय भोले बाबा भनिने रामबहादुर चौधरी लगायतका व्यक्तिले निर्घात कुटपिट गरेका थिए ।

‘बोक्सीको आरोप लगाउँदै निर्धात कुटपिट गरेपछि एक डेढ वर्षसम्म समाजमा घुलमिल हुन धेरै समस्या भयो,’ राधाले भन्नुभयो, ‘अहिले पहिलाको भन्दा धेरै सजिलो भएको छ, सबैले चिन्छन् र राम्रो व्यवहार पनि पाएकी छु ।’ अहिले राधाको मगनी भइसकेको छ । आउँदो वर्ष बिहे हुने पक्का भएको छ । मगनीपछि राधा आफ्ना पीडालाई बिर्सदैँ नयाँ जीवनको सपनामा रमाउन थाल्नु भएको छ ।

तर, कुरा काट्ने सामाजिक परिपार्टीका कारण भने अहिले पनि राधालाई केही असहज भइरहेको छ । ‘मेरो अगाडि कसैले केही कुरा गर्दैनन्,’ उहाँले भन्नुभयो, ‘तर, समाजमा अझै पनि मेरो बारेमा धेरै नकारात्मक कुरा भइरहेका पाइन्छन्, त्यसले मलाई अझै पनि झस्काइरहन्छ, फेरि सबै मिलेर दुर्व्यवहार गर्ने पो हुन् कि भन्ने पिर परिरहन्छ ।’

समाजमा जाँदा गलत व्यवहार भएको मैले पाएको छैन । सबैले माया गरेका छन्, आवश्यक परेको सहयोग सबैले गरिरहेका छन्, जसले मलाई विगतको पीडा बिसर्न मद्दत गरेको छ ।

बोक्सीको आरोपमा कुटपिटमा परेपछि राधालाई सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्ने आश्वासन दिए पनि त्यो सहयोग उहाँले अझै पाएका छैनन् । घोडाघोडी नगरपालिकाले रोज्गारी दिने आश्वासन दिए पनि अहिले फर्केर समेत नहेरेको उहाँको गुनासो छ । ‘घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले नै मलाई रोजगारी दिने आश्वासन दिनु भएको थियो,’ पीडित राधाले भन्नुभयो, ‘मैले उहाँलाई तीन–चार पटक भेटेरै सम्झाएँ । तर, मेयरसावले केही प्रतिक्रिया दिनुभएन, पछिल्लो समय भेट नै भएको छैन ।’

बोक्सीको आरोप लगाइएपछि राधालाई पढाइमा सहयोग गर्ने र रोजगारीका अवसरमा जोड्ने घोडाघोडी नगरपालिकाले  प्रतिबद्धता गरेको थियो । यस विषयमा घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमाकुमारी थापाले केही जानकारी नै नभएको प्रतिक्रिया दिनुभयो । बोक्सीको आरोप खेपेकी राधालाई पढ्ने वातावरण बनाउने र स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने विषयमा नगरसभामा केही निर्णय पनि भएका थिए,’ उपमेयर थापाले भन्नुभयो, ‘तर ती निर्णय कार्यान्वयन भए, नभएको बारेमा मलाई जानकारी भएन ।’

उसो त राधाले पीडक पक्षले दिने भनेको क्षतिपूर्तिवापतको सहयोग समेत पाएकी छैनन् । पीडक पक्षले दिने गरी अदालतले नै क्षतिपूर्ति तोकेको भए पनि सो रकम नपाएको राधाले बताउनु भयो । पीडक पक्षले क्षतिपूर्ति नदिएपछि मानवअधिकार आयोगमा पनि गएको बताउँदै राधाले भनिन्, ‘मानवअधिकार आयोगको कार्यालयले पनि पत्र काटेर दिएको थियो । तर, त्यसको पनि बेवास्ता गरिएको छ ।’ क्षतिपूर्तिवापतको रकम कसले दिने हो ? भन्ने विषयमा समेत आफुलाई जानकारी नभएको राधाले बताउनुभयो ।

बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा दोषि ठहर गर्दै भोलेवावा भनिने रामबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाएको थियो । तत्कालीन जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबासँगै कुटपिटमा सघाउने सहयोगी किस्मती चौधरीलाई पनि दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने गरी फैसला सुनाएको थियो । भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका घोडाघोडी नगरपालिका–५ कै स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाइ दिएको थियो ।