अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीबारे भ्रम नचिरे काँग्रेसले चुनाव जित्दैनः गृहमन्त्री खाण

एमसीसीबारे भ्रम नचिरे काँग्रेसले चुनाव जित्दैनः गृहमन्त्री खाण


बुटवल – गृहमन्त्री बालकृष्ण खाणले एमसिसीबारे जनतामा फैलाईको भ्रम चिर्न नसक्ने हो भने काँग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्ने बताउनु भएको छ ।

एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने उहाँले बताउनुभयो । ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, काँग्रेस एमसिसीको पक्षमा उभियो र संसदबाट अनुमोदन गर्न सफल भयो’ – काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाणले भन्नुभयो– ‘एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी छ ।’

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार आयोजना गरेको जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले एमसिसीबारेको भ्रम चिर्न नसके आगामी निर्वाचनमा काँग्रेसको पराजय हुने खतरा रहेको बताउनुभयो । उहाँले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको भन्दै संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा उल्लेख भएको बताउनुभयो ।

विद्युत प्रसारण लाइन निर्माण गरी विदेशमा विद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसिसी परियोजना महत्वपूर्ण हुने र यसबाट ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुने भएकाले यो मुलुकको हितमा रहेको उहाँले दावी गर्नुभयो ।

गृहमन्त्री खाणले आगामी निर्वाचन काँग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउनुभयो । ‘लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक छ’ उहाँले भन्नुभयो

उहाँले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गर्नुभयो । ‘हामी त्यस्ता शक्तिहरुसँग पनि सहकार्य गर्न तयार छौं, मूल धारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रवन्ध गरिरहेको छ’ गृहमन्त्री खाणको भनाई छ ।

उहाँले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले काँग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दावी गर्नुभयो । कार्यक्रममा जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो । गृहमन्त्री खाणले नगद २५ हजार राशीको पुरस्कार प्रदान गरेका हुन् ।

त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय उपसभापति हरि लम्साल, नेपाल पत्रकार  महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।