अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब टोखावासीलाई निःशुल्क रगत

अब टोखावासीलाई निःशुल्क रगत


काठमाडौं – टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने भएका छन् । यसका लागि  टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबीच  आज द्विपक्षीय सम्झौता भएको छ । अब  नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नपर्ने छैन ।  नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात ९नागरिकता, मतदाता परिचय–पत्र ई० को प्रतिलिपिका आधारमा  निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सो नगरपालिका दोस्रो भएको छ । यस अगाडि कीर्तिपुर नगरपालिकाले गत मङ्सिर  ७ गतेदेखि  निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ  ।

टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल र नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्तसञ्चार सेवाका कार्यकारी निर्देशक दिव्यराज पौडेलका सेवा सञ्चालनसम्बन्धी सो द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन समझदारी भएको  जानकारी दिनुभयो ।  नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रित गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रक्तदानका बारेमा थप सचेतना आवश्यक छ  । यसका लागि पालिकाको अहम् भूमिका हुन्छ ।” केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले  भन्नुभयो, “सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो । अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिनेछ । रगतको सहज पहुँचका लागि उच्च प्राथमिकताका साथ काम गरिएको छ ।”

रगत परीक्षण र सेवाशुल्कका लागि नगरपालिकाले पहिलो चरणमा चालु आवको रकमबाट रु पाँच लाख विनियोजन गरेको छ  । सम्झौतामा रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई सोधभर्ना दिइने उल्लेख छ  ।

त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।