अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक्ला-एक्लै चुनाव लड्दा हाम्रो परिणाम के थियो, गठबन्धन रहिरहे अर्को सरकार पनि आफ्नै बन्न सक्छ: प्रधानमन्त्री देउवा

एक्ला-एक्लै चुनाव लड्दा हाम्रो परिणाम के थियो, गठबन्धन रहिरहे अर्को सरकार पनि आफ्नै बन्न सक्छ: प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहका चुनावमा वर्तमान सत्ता गठबन्धनसँग चुनावी तालमेल हुने संकेत गर्नु भएको छ ।

आज वीरगन्ज पुग्नु भएका प्रधानमन्त्री देउवाले स्थानीयदेखि केन्द्रसम्म तीन तहका चुनावमा तालमेलका लागि सत्तासाझेदार दलहरूभित्र छलफल हुने बताउनु भएको हो । उहाँले गठबन्धनमा आबद्ध दलका नेताहरूको चित्त दुख्ने अभिव्यक्ति नदिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिनुभो ।

‘साथीहरूले बोली, व्यवहारबाट गठबन्धनका साथीहरूलाई कुनै पनि किसिमको चिसो पर्नेदेखि लिएर बेवास्ता गर्ने कुरा छैन । हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,” प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘तपाईंहरूलाई थाहै छ, हामी एक्लै चुनाव लड्दाको परिणाम कस्तो थियो । हामी हारेका थियौँ । अहिले गठबन्धनको सरकार भएको कारणले मिलेर चुनाव लडे स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनाउन हामी सक्छौँ ।’

सम्बोधनका क्रममा देउवाले कुनै न कुनै दलसँग कांग्रेसले सहकार्य गरेर जानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसकारण गठबन्धनमा भएका दलहरूलाई विनाकाम चिढ्याउने काम नगरौँ ।’