दार्चुला – एमालेनिकट अनेरास्ववियु अध्यक्ष सुनीता बरालले नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि धावा बोल्ने प्रयास नगर्न भारतीय पक्षलाई चेतावनी दिनु भएको छ । यस कदमविरुद्ध जोडदार आवाज उठाउने उहाँले बताउनु भयो ।
‘हामी भारतीय पक्षसँग नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि निरन्तर धावा बोलिरहने विस्तारवादी नीति बन्द गर्न चेतावनी दिन चाहन्छौँ । र, तत्काल सीमा अतिक्रमण र तटबन्ध निर्माण कार्य रोक्न र नेपाल सरकारलाई आवश्यक पहलकदमी लिन माग गर्दछौँ,’ बरालले भन्नुभयो ।
दार्चुलामा तटबन्ध निर्माण गरेर भारतले नेपाली भूमिमा अतिक्रमण गरेको ठहर अनेरास्ववियुले गरेको बताउँदै अध्यक्ष बरालले यस्ता गतिविधि स्वीकार्य नहुने बताउनु भयो ।
अध्यक्ष बराल भन्नुहुन्छ, ‘हामी जीवनको आहुति दिन तयार छौं । तर, हाम्रो मुलुकको एक चिम्टी माटो खोसिएको टुलुटुलु हेर्न सक्दैनौँ । लिम्पियाधुरा र लिपुलेक फिर्ता लिनुपर्ने कर्तव्य बोकेको वर्तमान सरकार दार्चुलामा तटबन्ध निर्माण कार्य हुँदै गर्दा मूकदर्शक हुन मिल्दैन ।’

सीमा रक्षार्थ उक्त क्षेत्रका स्थानीयले प्रतिकार गर्दा भारतीय पक्षबाट भएको दमनको भत्सर्ना गर्दै अध्यक्ष बरालले सीमाजस्तो संवेदनशील विषयमा समेत दार्चुला प्रशासनले मौनता साँध्नुले हाम्रो राज्य सीमा सुरक्षामा हदैसम्मको गैरजिम्मेवार रहेको पुष्टि हुने बताउनु भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्तामार्फत भूमि अतिक्रमणको विषयमा समाधान खोज्न उहाँले आग्रह गर्नुभयो । दार्चुलाको महाकाली नगरपालिका–४ खलङ्गामा भारतीय पक्षले नेपाली भूमि मिचेर तटबन्ध निर्माण कार्य सुरु गरेको विरोधमा अनेरास्ववियुको टोलीले स्थलगत निरीक्षणमा पुगेको छ ।
२४ फागुनमा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै भारतले तटबन्ध निर्माण थालेपछि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालसहितका विद्यार्थी नेताहरू स्थलगत निरीक्षण गर्न दार्चुला पुगेका हुन् ।







प्रतिक्रिया