काठमाडौं – सरकारले २०७९ सालमा शनिवार बाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले वर्ष २०७९ का लागि शनिवारबाहेक थप ४३ दिन विदा दिने निर्णय गरेको हो । मन्त्रालयले बिहीवार राजपत्र प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म देशभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।
बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ ।
यस्तै तीन दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरु २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ । त्यस्तै, गौरापर्व, महाशिवरात्री र अन्तर्राष्ट्रिय अपांगता दिवस भने शनिवारको दिनमा परेका छन् ।
मन्त्रालयले आगामी वर्षमा बैशाखदेखि कार्तिक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ । शुक्रबारेको दिन भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ ।







प्रतिक्रिया