अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश सांसद विष्टद्वारा माओवादी केन्द्र परित्याग

कर्णाली प्रदेश सांसद विष्टद्वारा माओवादी केन्द्र परित्याग


काठमाडौँ – नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सभाका सांसद एवम् प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्याग गर्नु भएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद विष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले परित्याग गर्नु भएको हो । उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताउनु भयो ।

बिष्टले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाउनु भयो । पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उहाँले बताउनुभयो ।

‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य, मान्यताभन्दा धेरै पर पुगेर जसरी एमसीसीको राष्ट्रघात छल्कियो, गम्भीर र आपत्तिजनक कुरा छ । यस्तो खालको राष्ट्रघाती अभियानमा पार्टी सहभागी भएको हुनाले विरोध त मैले निरन्तर गरिराखेको छु’, उहाँले भन्नुभयो, ‘हामीले विरोध पनि गरिराख्ने, भत्ता खाइराख्ने, गाडी पनि चढिराख्ने गरिराख्नु हुँदैन। देश, जनताभन्दा मेरो पद कुनै ठुलो कुरा होइन, त्यो शोभनीय हुँदैन। कालान्तरमा जनताले कुनै बेला विश्वास गरेछन् भने फेरि आउँला। त्यसैले राजीनामाको निर्णय भयो।’