अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमौली आगलागी : खुलेन कारण, आएन क्षति विवरण

दमौली आगलागी : खुलेन कारण, आएन क्षति विवरण


तनहुँ – दमौली आगलागी घटनाको हप्ता दिन हुन लाग्दा पनि क्षतिको यकिन विवरण आउन सकेको छैन । गत आइतबार जिल्लाको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भुपाल हार्डवयरको गोदामबाट आगलागी सुरु भएको थियो ।

विहान १० बजेतिर आगलागी सुरु भएकोमा करिब पाँच घण्टामा नियन्त्रणमा लिईएको थियो । आगलागीले हार्डवयरको गोदाम पूर्ण रुपमा क्षति भएको छ । अन्य नौ घर, तीन टहरा र दुई सटरमा पनि आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन ।

आगलागीबाट भएको क्षति संकलन गर्न व्यास नगरपालिकाले समिति गठन गरेको छ । नगरपालिकाका घरनक्सा शाखाका प्रमुख इन्जिनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सचिव माधव न्यौपाने सदस्य तीन सदस्य समिति गठन भएको छ ।

समितिलाई २६ फागुन भित्र नगरपालिकाले क्षतिको विवरण पेश गर्ने समयावधि तोकेको भए पनि सोमबारसम्म बल्ल प्रतिवेदन तयार हुने समिति संयोजक अमृत केसीले बताउनु भयो । ‘हामीले रिपोर्ट तयार पार्दैछौँ । सोमबारसम्म तयार पारेर बुझाउँछौँ’, उहाँले भन्नुभयो, ‘यो प्रारम्भिक रिपोर्ट हुनेछ । के कति क्षति भएको छ विस्तृत रिपोर्ट तयार पार्नलाई त समय लाग्छ ।’

प्रारम्भिक रिपोर्टले मोटामोटी कति क्षति भएको खुलाउने उहाँले बताउनुभयो । ‘अहिले उहाँहरुको भनाई अनुसार नै हामीले क्षतिको विवरण तयार पार्ने हो । ठ्याक्कै कति क्षति भएको हो सामान कति जलेका छन् । स्टक सामान कति थिए कति गए भन्ने पत्ता लगाउन सायद अर्को समिति बन्छ होला’, उहाँले बताउनु भयो ।

आगलागीको कारणबारे पनि अझै खुल्न सकेको छैन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताउनु भयो । ‘एक्कासी आगो लागेकाले सर्ट भएर हो कि भन्ने अनुमान हो । कारण खुल्न सकेको छैन्’, उहाँले भन्नुभयो । खास कारण पत्ता लगाउन अनुसन्धान भईरहेको उहाँले बताउनु भयो ।

जिल्लाको व्यास नगरपालिकासँगै छिमेकी जिल्ला कास्की, लमजुङ र चितवनका छ वटा दमकल प्रयोग गर्दा पनि आगो नियन्त्रण आउन मुस्किल भएपछि सिम्रिक एयरको होलिकोप्टर प्रयोग गरिएको थियो । हेलिकोप्टरले साहयतामा आगलागी नियन्त्रणमा लिइएको हो । साँघुरो ठाउँ भएकाले आगलागी नियन्त्रणमा लिनलाई दमकलको प्रयोग गर्न समेत अफ्ठ्यारो परेको थियो । हेलिकोप्टर मार्फत आगलागी नियन्त्रणमा आएपछि जस लिनलाई यहाँका नेताहरुको होडबाजी समेत चलेको थियो ।