अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छः पुटिन

युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छः पुटिन


मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गर्नु भएको छ । मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गर्नुभयो । उहाँले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेकोसमेत बताउनुभयो । ‘निश्चय नै सकरात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरुले बताएका छन,’ पुटिनले भन्नुभयो, ‘यसबारे पछि मैले सबै भन्नेछु ।’

यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन ।

रुसी हमलामा हजारौंको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस देश छोडेर छिमेकी देशहरुमा शरण लिएका छन् । युक्रेन संकटका कारण रुस र अमेरिकाबीच अर्को द्वन्द्व भड्किने त्रास बढिरहेको छ।

युक्रेनको प्रतिरोध र पश्चिमा प्रतिबन्धले रुसी पक्ष चकित परेको अमेरिकी गुप्तचर निकायका एजेन्टहरुले दाबी गरेका छन् । तर, रुसले भने यसलाई अस्वीकार गर्दै आएको छ । बरु प्रतिबन्धले आफ्नै देशलाई फाइदा भएको पुटिनले दाबी गरेका छन् । ‘सोभियत युनियन प्रतिबन्धमा पनि बाँचेको थियो । यसले विकासमा सहयोग गर्नुका साथै ठूलो उपलब्धी प्रदान गरेको थियो,’ पुटिनले भन्नुभयो ।

  • एजेन्सी