अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति जनताको हकहितका लागि हो : ईश्वर पोखरेल

राजनीति जनताको हकहितका लागि हो : ईश्वर पोखरेल


नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजन हुने मुलुककै लागि दुर्भाग्य भएको बताउनुभएको छ ।

काठमाडौँको बाँसबारीस्थित विश्वशान्ति चिरन मिलन क्याम्पसको रजन जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यसरी राजनीति विभाजन हुनु गलत भएको बताउनुभयो ।

उहाँले विभाजित राजनीतिमध्ये एउटाको नेतृत्व नेकपा ९एमाले०ले गरेको र अर्कोको नेतृत्व गठबन्धन दलहरूले गरिरहेको उल्लेख गर्नुभयो । नेता पोखरेलले एमालेले नेतृत्व गरेको राजनीति जनताको हक, हितका लागि भएको तर गठबन्धनले भने आफ्नो स्वार्थका लागि राजनीति गरेको आरोप लगाउनुभयो।

एमालेले नेतृत्व गरेको राजनीतिले निश्चित एजेण्डा बोकेको, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि रहेको उहाँको भनाइ थियो । उहाँले एमालेले राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका साथ मुलुक बनाउने सपना बोकेर अघि बढेको दाबी गर्नुभयो ।

समारोहमा नेपाली कांग्रेसका नेता नरहरि आचार्य, अधिकारकर्मी दमननाथ ढुङ्गाना, प्रा डा मोहन लोहनीलगायतको सहभागिता थियो । समारोहमा स्कुलको नवनिर्मित भवनको उद्घाटन तथा रुस र युक्रेनबीचको युद्ध अन्त्य एवं विश्व शान्तिका लागि प्रार्थनासमेत गरिएको थियो । सो अवसरमा सर्वोच्च शिखर सगरमाथा चढेका क्याम्पसका तीन विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा शम्भुराम सिंखडाका अनुसार उक्त क्याम्पसले निम्न आय भएका गरिब विद्यार्थीलाई पढाउँदै आएको छ ।