तनहुँ – तनहुँमा सडक दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन् ।
ती मध्ये टाटासुमोमा सवार नौ जना घाईतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताउनु भयो । दुर्घटनामा मृत्यु भएका मध्ये एक जनाको मात्र पहिचान खुलेको उहाँले बताउनुभयो ।
मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको उहाँले बताउनु भयो । अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो । ‘चितवनमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो’, डिएसपि खड्काले भन्नुभयो ।
टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया