अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन् : अध्यक्ष प्रचण्ड

 विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन् : अध्यक्ष प्रचण्ड


विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेको टिप्पणी गर्नु भएको छ ।

आज विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको दावी गर्नुभयो । सोही षड्यन्त्र असफल पार्न पार्टीले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने प्रचण्डले बताउनु भयो ।  तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उहाँले खुलाउनु भएन ।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, प्रचण्डले भन्नुभयो, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

अध्यक्ष प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट ठूलो गल्ती भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठुलो पार्टीका रूपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन । खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो ।’  

यस्तै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराईले अनावश्यक दबाब दिएको प्रचण्डले बताउनु भयो।

प्रचण्डले चुनाव ब्याटललाई समान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।