अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

बाबुराम आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग


काठमाडौं – इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ ।

आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभयो ।

‘आचार्यअघिका इतिहासकारले वंशावलीगाथालाई नै इतिहासमा रूपमा लेख्ने गरेका थिए, आचार्यले प्रामाणिक इतिहासको लेखन सुरु गर्नुभयो, नेपालमा रहेको विश्वको सर्वोच्च शिखरको नाम विदेशीको नाममा नामकरण भएकामा सगरमाथा नेपाली नाम राख्नुभएकालगायत योगदानको कदर गर्दै उहाँको जन्म दिन फागुन २९ लाई इतिहास दिवस घोषणा गरिनुपर्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले इतिहास शिरोमणि बाबुराम आचार्यका नाममा यसै वर्षदेखि सरकारले पुरस्कार दिने तयारी गरेको जानकारी गराउनुभयो । रु.दुई लाख राशिको पुरस्कार प्रत्येक वर्ष इतिहास, पुरातत्व, संस्कृतिका क्षेत्रमा योगदान गर्नेलाई प्रदान गरिने उहाँले सुनाउनुभयो । यस पुरस्कार छनोटका लागि समिति गठन भइसकेकाले केही दिनमा घोषणा हुने जनाइएको छ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले आफू संस्कृति मन्त्रालयको संस्कृति महाशाखा प्रमुख हुँदा पुरस्कार दिन प्रस्ताव गरेको स्मरण गर्नुभयो । बिपीको नाममा लोकतान्त्रिक पुरस्कार र पूर्वसंस्कृतिमन्त्री स्व रवीन्द्र अधिकारीका नाममा पनि पुरस्कार स्थापनाका लागि त्यसबेला प्रस्ताव गरी अघि बढेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बाबुराम आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न र पुरस्कार स्थापना गर्ने प्रस्ताव सर्वप्रथम प्रतिष्ठानले नै अघि बढाएको सुनाउनुभयो । आचार्यको जन्मदिन पारेर इतिहास दिवस घोषणाको प्रस्ताव राम्रो भएकाले सरोकार भएका सबै निकायको सल्लाहमै यसलाई पनि कार्यान्वयनमा अघि बढाइने उहाँको भनाइ थियो । प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सन् १८५६ मा विदेशी नागरिकका नाममा विश्वको सर्वोच्च शिखरको नामकरण भएकामा बाबुराम आचार्यले पूर्वीय दर्शन र नेपालीपनको सगरमाथा नामकरण गरेकाले उहाँको योगदान नेपालका लागि उच्च रहेको बताउनुभयो । यस्ता व्यक्तित्वको नाममा इतिहास दिवस घोषणा गर्नु उपयुक्त हुने उहाँको विचार थियो ।

कार्यक्रममा पूर्वमन्त्री मोदनाथ प्रश्रित, प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, प्राडा सुरेन्द्र केसी, पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेत, प्राज्ञ दीनेशराज पन्त, बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आचार्यको जन्मदिन पारेर फागुन २९ लाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभएको थियो ।