पाटन – नेपाल हस्तकला महासंघले कोरोनाका कारण दुई वर्षदेखि ललितपुरको पाटनमा रोकिएका मेला तथा प्रर्दशनी आयोजना गर्न नगरपालिकासँग माग गरेको छ ।
पाटनको नागवहालमा आइतबार आयोजित महिला हस्तकला मेलाको समापनका अवसरमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले लामो समयसम्म मेला र प्रर्दशनी नहुँदा व्यवासायीहरू मारमा परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चार वर्षदेखि खासै मेला प्रर्दशनी नहुँदा आर्थिक क्षेत्र चलायमान भएन । अब नगरपालिकाले बजेटनै छुट्टाएर वर्षमा ६ वटा मेला आयोजना गरोस् ।’
मेला प्रर्दशनी आयोजना गर्न आफूले के गर्नुपर्ने हो त्यो गर्न तयार रहेको महानगरका उपमेयर गीता सत्यालले बताउनुभयो ।
उपमेयर सत्यालले आफू विश्व कला नगरी पाटनको कला संरक्षणमा काम गर्न सधैँ तयार रहेको बताउनुभयो । उहाँले जति पनि बजेट राखेर काम गर्न तयार रहेको बताउँदै भन्नुभयो, ‘तर काम चाहिं हुनु पर्यो ।’
महागरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले मेलाको उत्साहपूर्ण सहभागीताले गर्व लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी नगरपालिकाको तर्फबाट वडामा हरेक वर्ष मेला आयोजना गर्न तयार छौं । कोरोना माहामारीका कारण दुई वर्ष भने मेला भएनन् । अब नियमित हुन्छ ।’
वल्ड क्राफ्ट एसोसिएसनले ललितपुरलाई कला नगरी घोषणा गरे पनि निरन्तर रुपमा मापदण्ड पूरा नगरे हटाउन सक्ने प्रावधान रहेको कलाकर्मीको भनाइ छ ।
मेलाका व्यवस्थापक सुजन बज्राचार्यले मेलाले आगामी दिनमा काम गर्न सिकाएको बताए । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सद्भभावनामा महानगरको १६ नम्बर वडाले महिला उद्यमी मेला आयोजना गरेको हो । मेलामा विभिन्न ५२ वटा स्टल थिए । मेलामा फेस पेन्टिङ, फुड स्टल, बाजा, कला तथा तस्बिर प्रर्दशनी आयोजना गरिएको थियो ।






प्रतिक्रिया