अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा फेरि कोभिडको त्रासः ३ करोड मानिस लकडाउनमा

चीनमा फेरि कोभिडको त्रासः ३ करोड मानिस लकडाउनमा


बेइजिङ – बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करीब ३ करोड जनसंख्या लकडाउनमा छन् ।

मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ ।

सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो ।  मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ ।

कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ । मंगलबार यहाँ ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ ।

त्यस्तै ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका वासिन्दालाई घरमै बस्न भनिएको छ । १ करोड ७५ लाख मानिसहरुको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ । धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन् ।

उता चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ ।  बाँकी विश्वको धेरैजसो ठाँउमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि माहामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ ।  

– एजेन्सी