अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन मिलेर चुनावमा गए पनि हामीलाई लड्न केही गाह्रो छैन : अध्यक्ष ओली

गठबन्धन मिलेर चुनावमा गए पनि हामीलाई लड्न केही गाह्रो छैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा आफूहरु एक्लैले पराजित गर्ने बताउनु भएको छ ।

आज काठमाडौंमा अनेमसंघको पूर्ण बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले अब एमाले गठबन्धनका दलसँग सिंगल सिंगल या समूहमै पनि भिड्न तयार भइसकेको बताउनु भएको हो । ओलीले गठबन्धन एकातिर र एमाले एकतातिर बस्दा पनि एमालेकै तौल बढी हुने जिकिर गर्नुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ– ‘हामीलाई गठबन्धनसँग लड्न केही गाह्रो छैन । यी स–साना समूह हुन् । अरू एकतातिर हुँदा हामी बढी हुन्छौँ । गठबन्धन सबै एकातिर र हामी एकातिर छौँ हुँदा पनि हाम्रो तौल बढी हुन्छ।’

गठबन्धन एकातिर भएकाले चुनाव लड्न गाह्रो हुन्छ भन्ने कुरासँग नतर्सिन आग्रह पनि गर्नुभयो । आफ्नो सरकारले गरेका कामहरू लिएर जनतामाझ जाने उहाँले उल्लेख गर्नुभयो ।

हामीलाई गठबन्धनसँग लड्न केही गाह्रो छैन । यी स–साना समूह हुन् । अरू एकतातिर हुँदा हामी बढी हुन्छौँ । गठबन्धन सबै एकातिर र हामी एकातिर छौँ हुँदा पनि हाम्रो तौल बढी हुन्छ।

अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा भए पनि सत्तारुढ दलका जनप्रतिनिधिदेखि नेता कार्यकर्तासम्म प्रवेश गर्न ओइरो लागेको बताउनु भयो ।

‘हामी प्रतिपक्षमा छौँ, तर सत्ताधारी दलका नेता कार्यकर्ता हाम्रोतिर आइरहेका छन् । हामी निश्चित रुपमा चुनाव जित्छौँ । हामीसँग सही नीति छ’, ओलीले भन्नुभयो, ‘हामीले काम गरेका छौँ, जनताले एमालेलाई सरकारमा ल्याउन चाहेका छन्।’

ओलीले स्थानीय निर्वाचनअघि कांग्रेसले आफूहरुको भण्डाफोर गर्न लागेको कुरालाई पनि कटाक्ष गर्नुभयो । सत्तारूढ दल नेपाली कांग्रेससँग जनतामा लिएर जाने विषयवस्तु नभएको उहाँले बताउनु भयो । ‘कांग्रेसले के लिएर जान्छ रे ? जनतामा एमालेको अघिल्लो सरकारको भण्डाफोर गर्ने रे ! के छ र कांग्रेससँग लिएर जान ? न विचार छ, न योजना छ ?’ ओलीले भन्नुभयो, ‘हामीले विगतमा पर्याप्त विकासका काम गरेका छौँ। हामीसँग अनगिन्ती योजना छन्। उनीहरु एमालेलाई धारे हात लगाएर भ्रम फिँजाउने काम गर्ने रहेछन्।’

उहाँले आफूले धानको चिउरा खाँदा सुनको चिउरा खायो भन्दै हल्ला गरिएको पनि बताउनु भयो । ‘विरोधीहरु कतिसम्म गर्छन् भने सुनको चिउरा खान्छ होला धान चिउरा खाएको देखायो भनेर प्रचार गरेछन्’ उहाँले भन्नुभयो ।