अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश सरकार : समझदारीअनुसार नेतृत्व फेर्ने जिम्मा शीर्ष नेतृत्वलाई

लुम्बिनी प्रदेश सरकार : समझदारीअनुसार नेतृत्व फेर्ने जिम्मा शीर्ष नेतृत्वलाई


बुटवल – लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा कांग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन् ।

माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ-आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो ।

कुलप्रसाद केसी मुख्यमन्त्री बनेको १२ फागुनमा आठ महिना पूरा भएको छ । आलोपालो सहमतिअनुसार अब कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हो । तर, राजनीतिक कोर्ष पहिलेको जस्तो नभएकाले प्रक्रिया लम्बिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले बताउनु भयो । ‘आलोपालोको सहमति शीर्ष तहबाटै भएको हो, अब नेतृत्व फेर्ने कुरा शीर्ष तहबाटै टुंग्याउनुपर्ने हुन्छ, यसका लागि  छलफल चलिरहेको छ,’ उहाँले भन्नुभयो ।

‘आठ-आठ महिना सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच समझदारी भएको हो, सोहीअनुसार फागुनमा हाम्रो नेतृत्वमा सरकार गठन हुनुपर्ने थियो, तर राजनीतिक कोर्ष विगतकोभन्दा फरक भएकाले आलोपालो सहमति  कार्यान्वयनका लागि ठोस रुपमा कुरा अगाडि बढेको छैन । यद्यपि, शीर्ष तहमा कुरा भैरहेको छ, कांग्रेस नेतृत्वमा सरकार बन्नेमा हामी आशावादी छौं,’ उहाँले भन्नुभयो ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट केसी मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनभित्रको ठूलो दल कांग्रेससँग आलोपालोमा केसी आठ महिना मात्र मुख्यमन्त्री बन्ने सहमति भएको थियो । सहमतिअनुसार केसी नेतृत्वको सरकारको आयु सकिएको छ ।

सहमति कार्यान्वयन नभए पनि नेतृत्व फेर्ने कुरामा काँग्रेसले गम्भीर ढंगले पहलकदमी गरेको छैन । ‘हामीले यहाँबाट केही गर्न सक्दैनौं, माथिबाटै टुंग्याउनुपर्छ,’ प्रमुख सचेतक खानले भन्नुभयो ।

सहमति कार्यान्वयन हुने हो भने कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । तर, मुख्यमन्त्रीले भने सरकार फेरिँदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन गर्ने पक्षमा नरहेको उहाँ निकट नेताहरु बताउँछन् । ‘नेतृत्व परिवर्तनले गठबन्धन दलभित्रै असन्तुष्टी बढ्ने भएकोले अहिलेकै नेतृत्व कायम राख्ने गरी पहल थालेका छौं,’ मुख्यमन्त्री केसी निकट एक नेताले भन्नुभयो । यसका लागि मुख्यमन्त्री केसीले कांग्रेसलाई थप केही मन्त्री दिएर भए पनि मनाउने प्रयास गरिरहेका छन्। तर, मुख्यमन्त्री केसी नेतृत्वको सरकारले गरेका धेरै निर्णयहरुमा कांग्रेसभित्र असन्तुष्टी रहेकाले सरकार फेर्नै पर्ने अडानमा कांग्रेस नेताहरू छन् । ‘मुख्यमन्त्री केसीले गरेका विवादास्पद नियुक्तिहरुमा हाम्रो गम्भीर असहमति छ, तसर्थ आलोपालो सहमतिअनुसार नेतृत्व फर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ कांग्रेसका एक नेताले भन्नुभयो ।