बुटवल- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताउनुभएको छ । उहाँले गाउँबाट सहरतिर बसोबास बढनु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसराई एकदमै डरलाग्दो छ ।’
लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उहाँले पहाडबाट तराईतिर, साना सहरबाट ठूला सहरतिर बसाइँसराईको क्रम बढनु चुनौती रहेको बताउनुभयो ।
बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उहाँले यसका लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको बताउनुभयो । सरकारका संयन्त्रले ‘एक्लाएक्लै काम गर्छौं भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै झाँक्रीले मन्त्रालय नै एक अर्काका विरोधीजस्ता देखिएको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले देशका सुविधा सम्पन्न क्षेत्रमा जनसंख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया